काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो।

आज शनिवार अस्पताल पुगेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गरेका छन्। त्यस अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायतका अधिकारीहरु सहभागिता रहेको थियो। 

सामाग्री हस्तान्तरण गरिसकेपछि मेयर शाक्यले महानगरले समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताएका छन्।

‘हाम्रा योजनाहरु अस्पतालमा भेन्टिलेटर र आइसियु बढाउनुभन्दा व्यक्ति—व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर केन्द्रीत गरिनुपर्छ । यतिले मात्र प्रयास नपुग्न सक्छ ।’ मेयर शाक्यले भने, ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ।’

मेयर शाक्यले चिकित्सकहरुको कामको प्रशंशा गर्दै भनेका छन्, ‘तपाईँहरुको उत्साहले व्यक्तिलाई बाँच्ने आशा आउँछ। त्यसैले सहास बढाउनोस् । आवश्यक पर्ने सहयोग हामी गछौँ ।’ त्यस क्रममा उपमेयर श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताएकी छन्। ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजना ।’ उपमेयर श्रेष्ठको भनाइ थियो ।

अस्पतालका डीन प्रा. डा. सिंह शाहले महानगरको सहयोगबाट उत्साहित भएको वताउंदै आएका विरामीलाई फिर्ता पठाउनु नपरोस् भन्ने चाहना राखेर हामीले क्षमता र जनशक्ति व्यवस्थापनमा लागेका खुलासा गरेकी छन्। अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ।
प्रकाशन मिति–२०७८ साल बैशाख २५ गते शनिवार ।