Dhurmush Suntali Basti 3बर्दिवास। महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमूना बस्ती’ नयाँ बर्षका दिन बैशाख १ गते शुक्रबार मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ।

धुर्मुस (सीताराम कट्टेल)–सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपालका ख्यातिप्राप्त कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई बस्तीको साँचो हस्तान्तरण गरेका हुन्।

Dhurmush Suntali Basti 2एकीकृत बस्तीको मुख्यद्वार खोल्न महजोडीसँगै नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीको पनि सहभागिता रहेको थियो। बस्तीभित्र निर्मित भ्यू–टावर मुख्यसचिव डा. सोमलाल सुवेदी र मुसहरका कूलदेवता भूइँयाँमहाराज तथा दिनाभद्रीको मन्दिर एवम् बाल उद्यान धुर्मुस–सुन्तलीका मातापिता बोगराज कट्टेल, कमला कट्टेल एवम् हरिप्रसाद घिमिरे, सीतादेवी घिमिरेले संयुक्तरुपमा मुसहर समुदायलाई हस्तान्तरण गरेका थिए।

Dhurmush Suntali Basti 5

समारोहमा फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि देश–विदेशबाट रु ६ करोड ३६ लाख ३९ हजार सहयोग प्राप्त भएको र तीमध्ये रु पाँच करोड चारलाख खर्च भएको जानकारी दिएका छन्। बस्तीमा ५० घरधुरी मुसहरका लागि खानेपानी धारा, शौचालय र सडक सुविधासहितको दुईतले पाँचकोठा भएको पक्की घर, भ्यू–टावर, बाल उद्यान, मन्दिर, पक्की सडक, सार्वजनिक शौचालय, सामुदायिक भवन र बस्तीका चारैतिर पर्खाल निर्माण गरिएको छ।

यसअघि मुसहर बस्तीभित्रै बसोवास गर्दै आएका तीन अन्य जाति समुदायका घरधुरीका लागि छुट्टै जग्गाको व्यवस्था गरेर घर बनाइएको न्यौपानेले भनेका छन्। फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हास्यकलाकार बसुन्धरा भुषाल, नायक शिव श्रेष्ठलगायतकाले बस्ती निर्माण गरेर मुसहर समुदायलाई हस्तान्तरण गरेकोमा धुर्मुस–सुन्तलीलाई धन्यवाद दिएका थिए।

Dhurmush Suntali Basti 4प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।