काठमाडौं। यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ। छायाँछवि चलचित्रकर्मी रजत सम्मान –२०७६ बाट करिव तीन दशकदेखि आधुनिक गीति गायन तथा मुलत चलचित्र पाश्र्व गायनमा ख्यातिप्राप्त गायिका देविका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ। यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् ।

आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियका अनुसार, ११औं इएनआई छायाँछवि डि सिने अवार्ड –२०७६ का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम यही वैशाख २१ गते काठमाडौंमा आयोजना हुने भएको छ।

सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५,०२५।– सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–२०७६मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु.११,१११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान रहेको आयोजक संस्थाले जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १९ गते विहीवार ।