–विजय डंगोल

 स्कटल्याण्ड । नेपाली मौलिक नृत्यका गुरु चरण प्रधानले विगत दुई दशकदेखि बेलायतमा नेपाली नृत्यलाई प्रवद्र्धन गर्ने कार्यमा निरन्तर क्रियाशील रहेका छन्।

नृत्य पेशामा जीवनको आफ्नो अमूल्य समय दिदै नेपाली, वेलायती तथा विदेशी संघ– संस्था लगायत वेलायतका बिभिन्न विद्यालयहरुमा आफ्नो कलाकारिताको बेजोड प्रस्तुति दिने कार्य ख्यातिप्राप्त नृत्य–निर्देशक प्रधानवाट हुंदैआएको छ। जसवाट बेलायतवासीहरुको मन जित्न प्रधान सफल बनेका छन्।

यसैक्रममा  गत मे, २०१८ मा आयोजक नर्थ लार्नाक्साएर काउन्सिल द्वारा  स्कटल्याण्ड ल्याङकेसर शहरको मदरवेय्ल कन्सर्ट हलमा भएको बिभिन्न विद्यालयहरुकोफरक  क्षमता भएका बालबालिका र सबल बालबालिकाको सहभागितामा समर आर्टस् फेस्टिभल नृत्य प्रतियोगिता तथा सांगीतिक कार्यक्रम २०१८ भब्यतका साथ सम्पन्न भएको छ।

यस कार्यक्रममा नृत्य गुरु चरण प्रधानद्वारा दुबै समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै नृत्य प्रशिक्षण दिएका थिए। त्यसपछि फेरि दुई समुहहरुलाई एकै ठाउँमा राखेर एकले अर्को नृत्यको माध्यमद्वारा एक आपसलाई बुझ्ने र बुझाउने प्रयास अनि एकआपसमा नबोलिकन आफ्नो कुरा व्यक्त गर्ने बेजोड कार्य गरेका थिए। जसवाट मानसिक, भावनात्मक र शारीरिक प्रक्रियाद्वारा आफ्नो भावना अभिव्यक्त गर्न मदत मिलेको थियो।

यो प्रोजेक्ट हरेक बर्ष आठ महिनाको लामो तालिमपछि  अन्तिम प्रस्तुतिको लागि तयार गरिन्छ। यस प्रस्तुतिलाई हाल समर आर्ट्स फेस्टिभल, मदरवेय्ल कन्सर्ट हलमा आठ सय दर्शकहरु तथा अभिभावकहरुको माझमा गरिएको थियो। यस अवसरमा लार्नाक्साएरका मेयर तथा अन्य विशिष्ट अतिथिहरुको पनि उपस्थिति रहेको थियो।

नृत्य गुरु चरण प्रधानका अनुसार यस किसिमका नृत्य तथा कार्यक्रमको थिम हरेक वर्ष फरक फरक हुने गर्दछ।  यसै क्रममा यस पटक चार तत्व आगो, पानी, हावा र माटो विषय बनाइएको थियो भने अर्को बर्ष खुशी विषय हुनेछ।

प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।