लण्डन। बेलायतमा दशकौ देखि नेवारभाषा तथा नेवार कला–संस्कृतिको पहिचान र प्रवद्र्धन गर्ने कार्य पासा पुचः गुठी युकेले गर्दै आएको छ। यसैक्रममा नेवारभाषा तथा नेवार कला–संस्कृतिलाई बेलायतको विश्वविद्यालयमा अध्ययनको विषय बनाउन गुठीले भरमग्दुर प्रयास गरेको छ।

गुठीले लण्डनको यसै सिलसिलामा सोआस युनिभर्सिटी लन्डनमा नेवारभाषा र संस्कृतिका सम्बन्धमा बृहत कार्यशाला संपन्न गरेको छ। सोआस युनिभर्सिटी लण्डनको नेवारभाषा सोसाइटीले पासा पुचः गुठी यूकेसंगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो।

उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु र पासा पुचः गुठी यूकेका सदस्यहरुसहित करिब २ दर्जनको सरोकारवालाहरुको सहभागिता रहेको कार्यशालाको सुरुमा नेवारभाषामा कसरी कुराकानी गर्ने भन्ने सम्बन्धमा आधारभूत प्रशिक्षण दिइएको थियो।

केही वर्षदेखि नेवारभाषाको अध्ययन गरिरहेकी इटालियन नागरिक म्यारीलिना फ्रिसोनले नेवार समुदायले मनाउने पर्व योमरी पुन्हीसम्बन्धी एक शैक्षिक प्रस्तुति नै दिएकी थिइन्। कार्यशालाको दोस्रो चरणमा पासा पुचः गुठी , साउथ ईस्ट लण्डनका अध्यक्ष सुशिल प्रजापतिले नेवार समुदायमा खेलिने बागचाल लगायतका ३ प्रकारका विभिन्न परम्परागत खेलहरुबारे प्रिजेन्टेसन गरेका थिए।

प्रजापतिले लाखे, ख्याक, भैरवनाच, कंकाल नाच लगायतका मौलिक नेवारी मुकुण्डो नाचहरु, तीनमा प्रयोग हुने मुकुण्डो र बजाइने बाजाहरुका सम्बन्धमा सहभागीहरुलाई विस्तृत जानकारी गराएका थिए। लोपोन्मुख भाषाका रुपमा नेवारभाषाको संरक्षण गर्ने उद्धेश्यले यसको अध्ययन गरिरहेका विद्यार्थीहरुको सक्रियतामा यो सोसाइटीले यस्ता कार्यक्रम गर्दै आएको यो सोआस युनिभर्सिटीको नेवारभाषा सोसाइटीको नेवारभाषा र संस्कृतिका सम्बन्धमा कार्यशाला आयोजना गरेको यो दोस्रोपटक हो।

पासाः पुच गुठी यूकेका उपाध्यक्ष ओजेश सिंहले तयार पारेको मौलिक नेवारी खाना समयबजीको स्वादमा रमाउने मौका पनि उपस्थित सहभागीहरुले पाएका थिए। कार्यक्रमको अन्त्यमा नेवारभाषासम्बन्धी एक वृत्तचित्र देखाइएको थियो। लोपोन्मुख नेवारी भाषा कसरी संरक्षण गर्न सकिन्छ भन्नेबारे कार्यशालाका सहभागीले छलफल गरेका थिए। नेवारभाषालाई बेलायतको बिश्वबिद्यालयमा खोज तथा अध्ययनको बिषय बनाउन पाषा पुच गुठीले सहयोग गर्न पाउनुमा गर्वको लागेको कुरा गुठीका अध्यक्ष सुशील प्रजापतिले बताए।

प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।