काठमाडौ। नेपालका प्रथम नृत्य निर्देशक यही हो भन्ने यकिन हुन सकेको छैन्। प्रथम नृत्य निर्देशकको खोजी र अनुसन्धान गर्नु अत्यन्त आवश्यकताको विषय बन्न थालेको छ। यस विषयमा नौ महिना अघि मात्र गठित नृत्य निर्देशकहरुको छाता संंगठन नृत्य निर्देशक संघ नेपालले जिम्मेवारी पूर्वक कार्य गर्न लागेको बताएको छ।

Dance Director Association Nepal Team. Photo By- Rekha Shakya
Dance Director Association Nepal Team. Photo By- Rekha Shakya

नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठले यो अव संघको जिम्मेवारी भएकोले केही समयभित्र नेपालको प्रथम नृत्य निर्देशकको बारेमा गहन अध्ययन तथा अनुसन्धान गरेर प्रकाशमा ल्याउने स्पष्ट पारेका छन्।

जीवित नृत्य निर्देशकको हकमा ८५ बर्ष उमेरका प्रसिद्ध नृत्य निर्देशक भैरब बहादुर थापा रहेको र थापाको योगदानको कदरस्वरुप संघको पहिलो बृहत कार्यक्रमका रुपमा भैरब बहादुर थापा सम्मान साँझ २०७३ गर्न लागेको जानकारी संघको प्रथम उपाध्यक्ष संजय शर्माले भनेका छन्।

शर्माका अनुसार सम्मान साँझ यही चैत्र १० गते विहीवार दिनको ठीक ३ बजे काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। कार्यक्रममा नृत्य क्षेत्रका अग्रज नृत्य शिरोमणि नृत्य गुरुवा भैरवबहादुर थापालाई दोसल्ला ओढाइ ताम्रपत्रको साथमा नगद सहित बृहत् सम्मान गरिने तथा सम्मान कार्यक्रम पश्चात विभिन्न कला सम्वद्ध विभिन्न संघसंस्थाको सहयोगमा सांस्कृतिक कार्यक्र प्रस्तुति प्रस्तुत गरिने भएको छ।

सांस्कृतिक प्रस्तुति अन्तर्गत नेपालको शास्त्रीय चर्या नृत्य, लोकनृत्य, भारतको कथक, भरतनाट््यमको साथै पाश्चात्य हिपहप, बिबोइङ, कन्टेम्पररी, साल्सा जस्ता नृत्यहरु प्रस्तुत गरिने खुलासा संघका महासचिव नृपध्वज खत्रीले गरेका छन्। देश तथा विदेशमा गरेर करिब सात हजार जति नृत्य निर्देशकहरु रहेको अनुमान गरिएको छ।

ती सवै नृत्य निर्देशकहरुलाई संघमा आवद्ध गर्ने योजना रहेको पनि संघका अध्यक्ष भुवन श्रेष्ठले भनेका छन्। अर्कोतर्फ आगामी अप्रिल महिनाको २९ तारिखका दिनमा अन्तरराष्ट्रिय नृत्य दिवस परेकोले त्यस दिन पनि संघले बृहत सम्मान सहितको कार्यक्रम गर्ने योजना राखेको पनि श्रेष्ठको भनाइ रहेको छ।

प्रकाशन मिति–२०७३ साल चैत्र २ गते बुधवार ।