काठमाडौं। नेपाली गीत–संगीतका गोल्डेन भ्वाइस अफ नेपाल युगिन गायक प्रेमध्वज प्रधानको दुःखद निधन भएको छ। ८५ बर्षको उमेरमा युगिन गायक प्रधानको विहीवार दिउंसो करिब १ः४५ बजेतिर उपचारको क्रममा काठमाडौंको सुन्धारा बागदरवार गल्लीरोडस्थित न्यूरो अस्पतालमा निधन भएको हो।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि गायक प्रधानलाई उपचारको क्रममा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा गायक प्रधानको निधन भएको परिवारजनले वताएको छ। यसैवीच गायक प्रधानलाई कोरोन संक्रमण नभएको पनि पुष्टि भएको छ। कोरोना रिपोर्ट नेगेटिभ आएको गायक प्रधानको नातेदार सविन श्रेष्ठले खुलासा गरेका छन्।

विसं. १९९३ साल असार महिनामा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका गायक प्रधानको घरमै सांगीतिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे। उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो।

एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता सयौं कालजयी हिट गीतले गायक प्रधानलाई अमर वनाएको छ। त्यस्तै, बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यको संगीतमा पचासको दशकमा नेपालभाषामा छन्त यके धुंका बोलको गीत गाएका प्रधानको नेपालभाषाको सुपरहिट गीत नै बनेको थियो। नेपालभाषाको हिट फिल्म राजमतिको शिर्ष गीत राजमति गाएर पनि कालजयी गायक बनेका गायक प्रधान भारतीय गायक–गायिकाका पनि प्यारा गायक थिए।

मुम्बई आएर तहल्का मचाउन भारतीय गायक–गायिकाहरुले उकासेपनि नेपालमा नै बसेर स्वाभिमानीपूर्वक नेपाली गायक हुनुको गौरबता वढाउने कार्य गायक प्रधानवाट भएको कसैवाट छिपेको छैन्। सवैका प्रिय गायक प्रधान नेपाली गीत–संगीतको उज्ज्वल नक्षत्र नै हुन्।


प्रकाशन मिति–२०७८ साल बैशाख २३ गते विहीवार ।