प्रत्येक एक किलोमिटरमा एक सार्वजनिक शौचालयको आवश्यकता

काठमाडौं। सुखी नेपाली र समृद्ध नेपाल । राज्यको यो वर्तमान नारा तब मात्र सम्भव छ जब प्रत्येक नेपालीको न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुन्छन्। न कि रेल ल्याउँदैमा, पानी जहाज, मोनोरेल, मेट्रोरेल, भ्यू टावर बनाउँदैमा यो नाराले सार्थकता पाउंदैनन्। नेपाली जनताका न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुने बितिकै समृद्धि आफैं आउछ। समृद्धि आएपछि सबै नेपालीहरु त्यत्तिकै सुखी हुने राय तथा ठहर सामाजिक अभियन्ता तथा प्रसिद्ध गीतकार प्रकाश कुइँकेलको रहेको छ।

गीतकार कुइँकेलको वर्तमान सरकारको ध्यान पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने तर्फ हुनुपर्ने भनाई रहेको छ। स्वस्थ रहन डाक्टरहरु दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ र दैनिक कम्तिमा ३ लिटर पिसाब गर्नुपर्छ। घरमा बसिरहनेलाई त यो सजिलै होला, तर काम विशेषले बाहिर गैराख्नुपर्ने पैदल यात्री, सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरुलाई भने यो सहज नभएको र अझ सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग भएकाहरूलाई भने यो त अत्यन्तै पीडादायक र कष्टकर नै हुने दावी गीतकार कुइँकेलको रहेको छ।

गीतकार कुइँकेलका अनुसार सुगर, प्रोस्टेट र पिसाव संवन्धी रोगीहरुलाई बारम्बार पिसाब गरिरहनु पर्नेहुन्छ। एकछिन पनि पिसाब च्यापेर बस्न सक्तैनन् र पालो कुर्न पनि सक्तैनन्। पानी नखाउँ–स्वास्थ्य बिग्रिन्छ। पानी खाउँ–पिसाव गर्ने शौचालय छैन्। यो कस्तो विडम्बना। जनतालाई पर्याप्त मात्रामा सार्वजनिक शौचालय नबनाएर राज्यले आफूजस्ता सुगर रोगीहरुलाई सजाय दिएको जिकिर गीतकार कुइँकेलको रहेको छ।

नेपालमा यतिखेर सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग लागेकाहरुको संख्या दिनदिनै बढ्दैछ। उनीहरू काम विशेषले बाहिर जाँदा दिनभरमा कम्तीमा १० पटक पिसाब गर्छन्। सार्वजनिक शौचालय पाइएकै खण्डमा पनि एकपल्ट पिसाब गरेको रु.५ तिर्दा दिनको रु.५० तिर्नुपर्ने हुन्छ। के यो सधैं सम्भव हुन्छ त भन्ने प्रतिप्रश्न पनि गीतकार कुइँकेलको रहेको छ।
विकसित देशमा सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइन्छ भने भारतमा रु.१ तिरे पुग्छ। तर हाम्रो देश नेपालमा रु.५ तिर्नुपर्ने एककिसिमको विडम्बना नै भएको ठहर गीतकार कुइँकेलको रहेको छ।

जब साह्रै अप्ठ्यारो पर्छ। नजिक सार्वजनिक शौचालय पनि छैन भने लाज पचाएर पर्खालको कुनाकाप्चा, भित्ता आदितिर लुसुक्क लाग्नुपर्छ । कसैले गाली गरे गरुन, जरिवाना गरुन, पिटे पिटुन, बाटो हिंड्ने देखें देखुन, महिलाहरुले देखें देखुन,फोहोर भए होस,पिसाब गरिसके पछि गोली हानिन्छ भने पनि पछाडिपट्टि ढाड फर्काएर पिसाब गर्नैपर्ने हुने पीडा भएको गीतकार कुइँकेलले उजागर गरेका छन्। यो बाध्यता हो।

फेरि पिसाब च्यापेर धेरै बेर बस्दा किड्नीको समस्या शुरु हुने डाक्टरहरुको भनाई रहेको छ। यसले गर्दा पनि पिसाव फेर्नै पर्दछ। पुरुषहरुलाई त यस्तो समस्या हुन्छ भने, सोही रोगका रोगी महिलाहरुलाई अझ धेरै कठिनाइ हुने गरेको यथार्थ पनि गीतकार कुइँकेलले जाहेर गरेका छन्।

यसलेगर्दा काठमाडौं महानगरपालिका लगायत अन्य महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुलाई गीतकार कुइँकेलले प्रत्येक १ किलोमीटरको फरकमा एक–एक वटा सार्वजनिक शौचालय बनाइदिन अनुरोध गरेका छन्। काठमाडौं शहरका बीचबीचमा पर्ने शपिङ मल, हस्पिटल आदिमा भएका ट्वाइलेटहरुले पनि धेरै राहत दिएको बताउंदै गीतकार कुइँकेलले शपिङ मल, हस्पिटल आदिले बनाएकै छन् भनेर सार्वजनिक शौचायलय बनाउन काठमाडौं महानगरपालिका लगाययत अन्य नगरपालिकाहरु पन्छिन नमिल्ने राय पनि उनको रहेको छ।

बनाइदिने दायित्व महानगरपालिकाको हो र त्यसलाई राम्ररी प्रयोग गर्ने, सफा राख्ने जिम्मेदारी महानगरवासीको हो पनि उनले भनेका छन्। महानगर भित्र कति ठाँउमा सार्वजनिक जग्गा छन्न्। कतिपय सार्वजनिक जग्गाहरू माफियाहरुले हडपेर बसेका छन्। त्यहाँ बनाउन सकिन्छ, नभए उपयुक्त ठाँउमा जग्गा खरिद गरेर भएपनि बनाउन सकिन्छ। जुन महानगरका जनताहरू पिसाब गर्न शौचालय नपाएर छट्पटाई रहेकाछन् भने, तिनीहरूलाई विकासका ठूला ठूला आयोजनाको कुनै अर्थ नहुने तर्क पनि कुईकेलको रहेको छ।

सामाजिक अभियन्ता प्रकाश कुइँकेलको अत्यन्त सार्वजनिक महत्वको विषयलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई नामी साप्ताहिकले राख्दा आफूले यस विषयमा गंभीरतापूर्वक लिएको बताएका छन्। यस संवन्धमा काठमाडौं महानगरपालिका शहरी योजना आयोगलाई अध्ययन पनि गराइसकेको मेयर शाक्यले भनेका छन्। चांडै नै काठमाडौं महानगरपालिकाका विभिन्न स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालय निर्माण हुने पनि मेयर शाक्यले बताए।

सवैको चासो र आवश्यकताको विषय बनेको सार्वजनिक शौचालय शहरी आधारभूत आवश्यकताको विषय भएको काठमाडौं महानगरपालिका शहरी योजना आयोगका अधिकृत सुशील सुवेदीले भनेका छन्।

अधिकृत सुवेदीका अनुसार, काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगरमा रहेका साविक ४४ वटा र थप १३ वटा गरेर ५७ वटा सार्वजनिक शौचालयको पहिचान गरेर नयाँ प्रविधिको शौचालय अध्ययन पूरा गरिसकेको छ। निकट भविष्यमा ५७ वटा सार्वजनिक शौचालय काठमाडौं महानगरमा बन्ने भएको छ।

यसरी सवै महानगरपालिका, नगरपालिका तथा गाउंपालिकाहरुले काठमाडौं महानगरपालिकाले जस्तै विस्तृत रुपमा अध्ययन गरेर कम्तिमा पनि सामाजिक अभियन्ता गीतकार प्रकाश कुइँकेलले भनेजस्तै कम्तिमा पनि १ किलोमिटरको दूरीमा सार्वजनिक शौचालयहरु निर्माण गर्ने योजना राख्नु आवश्यक छ। जतिसक्दो सार्वजनिक शौचालय निर्माण गरेर जनताहरुलाई राहत दिनु आवश्यक छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल मंसीर ८ गते शनिवार ।