–निशान बुढाथोकी
काठमाडौं। नेपालको पहिलो ध्वनी तरंग अर्थात सवैको प्रिय सञ्चार माध्यम रेडियो नेपाल हो। विसं. २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालको ध्वनी तरंग नेपालभर फैलिएपछि सारा नेपाली जनताले प्रजातन्त्र आएको महशुश गरेका थिए।

रेडियो नेपाल मार्फत शहर–बजार देखि गाउंघरका चिया पसलसम्म सवैले रेडियो नेपालको ध्वनी तरंग मार्फत समाचार देखि गीत–संगीतको तरंगमा जीवनका स्वप्निल सपना सजाउनेहरु माझ रेडियो नेपालमा बोल्ने मान्छेहरु कस्ता हुन्छन भन्ने धेरैको मनमा उब्जिने प्रश्न हो।

ध्वनी तरंग वाहेक तस्बीर तरंगको अभावको त्यो बेला र यो बेला पनि रेडियो नेपालमा बोल्ने देखि टेक्निकली मिलाउने प्राविधिक मित्र भनेर बारम्बार कार्यक्रम प्रस्तोताहरुले भन्ने गरेकाहरुको वारेमा पनि खुल्दुली हुने गर्दछ। धेरैले रेडियो नेपालका प्राविधिक मित्र कस्तो होला भनेर भन्नेहरुको माझ हामी तपाईहरुलाई आज चिनाउन गैरहेका छौं–उही रेडियो नेपालका चिरपरिचित प्राविधिक मित्र सुरेन्द्र पौड्याल ।

सुरेन्द्र पौड्यालको नाम रेडियो नेपालवाट हामीले विसं. २०४७ सालवाट नियमित सुन्दैआएको नाम हो। आजभन्दा ३१ बर्षअगाडि रेडियो नेपालमा प्रवेश गर्दा सुरेन्द्र पौड्याल रेडियो प्राविधिकको रुपमा मात्र परिचित थिए। प्राविधिकको रुपमा रेडियो नेपालको जागिरे जीवनमा प्रवेश गरेका सुरेन्द्र पौड्याल यतिखेर रेडियो नेपालमा विहानी सेवाको प्राविधिक अधिकृतको रुपमा कार्यरत छन्।

रेडियो नेपालको जागिरे जीवनका क्रममा दुई बर्ष भेरी अञ्चलको सुर्खेत प्रसारण केन्द्रमा समेत कार्यरत रहेर केन्द्रिय प्रसारणमा जोडिरहेका सुरेन्द्र पौड्याल सवै कार्यक्रम प्रस्तोता देखि कार्यक्रम अधिकृत तथा संगीतकर्मीहरु र स्रोताहरुमाझ समेत सहज र सरल व्यक्तित्वका रुपमा लोकप्रिय छन्।

सहज र सरल जीवन शैली एवम् सवैलाई सम्मान व्यवहार गर्नु पर्छ भन्ने मान्यता सुरेन्द्र पौड्यालको रहेको छ। रेडियो नेपालका प्राय कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोताहरुले प्राविधिक मित्र सुरेन्द्र पौड्याल भनेर उद्घोषण गरिदा सुरेन्द्र पौड्याल कस्ता छन भनेर हेर्नका लागि भनेपनि रेडियो नेपाल आउने सयौं स्रोताहरुलाई सम्झन चुक्दैनन्। यो आफूप्रतिको सम्मान तथा माया हो भनेर सुरेन्द्र पौड्यालले भनेका छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार २० गते मंगलवार ।