काठमाडौं। नेपाली चलचित्रकी अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको छ। असार २५ गते शुक्रवारका दिन हर्टअटेकका कारण अभिनेत्री भीमा सिंहको दुःखद निधन भएको हो। अभिनेत्री सिंहका श्रीमान तौप्रसाद गुरुङले दिएको जानकारी अनुसार, असार २५ गते शुक्रवारका दिन अपरान्ह ४ बजेर ४७ बजे हटेअटेकका कारण दुःखद निधन भएको छ।

नेपाली चलचित्र कन्यादान, जन्म जन्म देउता, प्रतिज्ञा, सिमाना, पृथिवि लगायत नारायण त्रिपाठीको दशैं, प्रहरी अनुरोध, महको कान्तिपुर, बीरेन्द्र हमालको निर्दोष कैदी, दिवाकर गुरुङ, रमेश बुढाथोकीका टेलिफिल्महरुमा पनि अभिनय गरेको जानकारी अभिनेत्री सिंहका एकमात्र सुपुत्र प्रभात गुरुङले भिजन संसार डटकमलाई दिएका छन्।

सन् १९९६ अगस्टमा भारतको नयाँ दिल्लीको एम्स हस्पिटलमा ब्रेन ट्युमर अपरेसन पश्चात दृष्टि बिहिन भएको थियो। त्यसपछि पनि नियमित उपचारमा रहेकी अभिनेत्री सिंहको असार २६ गते शनिवार इसाई धर्म परम्परा अनुसार गुहेश्वरीमा दाहसंस्कार गरिएको थियो। अभिनेत्री सिंहको इच्छा अनुसार मृत्यु पश्चात् हुने सम्पूर्ण कार्यहरु इसाई धर्म अनुसार नै गरिएको अभिनेत्री सिंहका श्रीमान तौप्रसाद गुरुङले वताएका छन्।

तत्कालिन समयमा बामपन्थी बिचारधाराले कारण भूमिगत बनी पश्चिम नेपालको पर्बत, बागलुङ्ग, स्याङ्जा क्षेत्रमा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, त्रिलोचन ढकाल, सोमनाथ प्यासीहरुको नेतृत्वमा बामपन्थी राजनीतिमा पनि अभिनेत्री सिंह क्रियाशील रहेकी थिइन्।

विसं.२०४६ सालको राजनीतिक परिवर्तन पश्चात नेपाली चलचित्रको कलाकारिता क्षेत्रमा सक्रिय बनेकी थिइन्। कलाकारितामा सक्रिय भैरहेको त्यो उर्वर समयमा नै ब्रेन ट्युमरका कारण दुवै आँखाका दृष्टि गुमाएकी अभिनेत्री सिंहले काठमाडौंवाट प्रसारित गुडन्यूज एफएममा पनि केही समय कार्यक्रम प्रस्तोता भएर कार्य गरेकी थिइन्।


प्रकाशन मिति–२०७८ साल असार २८ गते सोमवार ।