काठमाडौ। अविवाहिता नायिकाले चलचित्रको पर्दामा बच्चालाई स्तनपान गराउन मिल्ने या नमिल्ने भन्ने चर्को बहस पहिला देखि हुंदै आएको छ। तरपनि, यसले खासै निकास पाएको पाइदैन। नेपाली चलचित्र आमाको मायामा आमाको माया देखाउन त्यो बेलाकी नेपाली अविवाहिता नायिका निलु रायमाझीले स्तनपान गराएको दृश्य दिएकी थिइन्।

त्यो दृश्य दिदा निलुले अनेक विवादको सामना गरेकी थिइन्। जुन विवादको सामना गर्न नसकेर फिल्म लाइनवाटै दूर हुनु परेकी थिइन्। भारतीय फिल्म राम तेरी गंगा मैलीमा त्यो बेलाकी अविवाहिता नायिका मन्दाकिनीले पनि बच्चालाई स्तनपान गराएको स्वभाविक दृश्य दिएकी थिइन्। जुन दृश्यलाई सवैले स्वभाविक रुपमा हेरेका थिए।

त्यसैगरेर, यतिखेर भारतमा प्रकाशित हुने एउटा मलायालम पत्रिकाको कभरमा प्रकाशित स्तनपानको तस्वीरलाई लिएर अहिले चर्को बहस भइरहेको छ। यो विवाद अदालतसम्म पुगेको छ। उक्त कभरमा अविवाहित मोडल गिलु जोसेफले बच्चालाई दुध चुसाएको तस्वीर समावेश भएपछि विवाद भएको हो।

उक्त तस्वीरले अश्लिलता फैलाएको भनेर एक वकिलले अदालतमा रिट हालेका थिए । तर अदालतले उनको दावीलाई अस्वीकार गर्दै यो अश्लिल नभएको ठहर गरेको थियो। अहिले बलिउडकी अभिनेत्री दिब्यांका त्रिपाठीले यो विवादमा मुख खोलेकी छन् । उनले महिलाको स्तनको महत्वबारे एक अन्तरवार्तामा लामै प्रवचन दिइन् ।

महिलाको स्तन कुनै प्रजनन अंग नभएको भन्दै उनले यसलाई लुकाएर राख्नु आवश्यक नरहेको तर्क गरिन्।बच्चालाई दुध खुवाउनका लागि महिलाको शरीरमा ईश्वरले स्तनको विकास गरिदिएका हुन्। यो कुनै गोप्य अंग होइन । त्यसैले महिलाहरुले सार्वजनिक स्थलमा निर्धक्कसँग आफ्नो बच्चालाई स्तनपान गराए हुन्छ।’ उनले बोल्ड तर, सन्देशमुलक तस्वीर खिचाएको भन्दै मोडल जोसेफको प्रशंसा पनि गरिन् ।

‘विवाहित मोडलहरु पनि यस्तो तस्वीर खिच्न हिच्किचाउँछन् । उनको हिम्मत सह्राहनीय छ,’ दिब्यांकाले भनिन् । यस्तो तस्वीरले महिलाहरुलाई सार्वजनिक स्थलमा स्तनपान गराउन प्रेरणा मिल्ने उनी बताउँछन् ।

उनले अगाडि थपिन्, ‘भारतमा सार्वजनिक स्थलमा स्तनपान गराउनुलाई लज्जाको विषय मानिन्छ । तर, आफ्नो बच्चा भोकाएको बेला दुध चुसाउन केको लाज ?निर्धक्क चुसाए हुन्छ ।’
प्रकाशन मिति–२०७५ साल असार १४ गते विहीवार ।