मुम्बई। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या राय अभिनित फिल्म ‘फन्ने खान’ यतिबेला भारतसहित विश्वका विभिन्न थिएटरमा प्रदर्शन भैरहेको छ। फिल्ममा फरक चरित्रमा देखिएकी ऐश्वर्या चाँडै नै फिल्म निर्देशन गर्ने तयारीमा रहेकी छन्।

ऐश्वर्याले हालै मुम्बईमा पत्रकारमाझ फिल्म निर्देशन गर्ने खुलासा गरेकी छन्।

उनले फिल्म निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्ने बताइन् । ‘म केही वर्ष पछि फिल्म निर्देशनको दुनियाँमा पाइला चाल्दैछु । मेरो कुराबाट मेरा पति तथा अभिनेता अभिषेक बच्चन पनि उत्साहित छन् । म कुनै पनि फिल्मको निर्देशन गर्दा हृदयदेखि नै गर्नेछु,’उनले भनेकी छन्,‘निर्देशनमा पूरा समय दिनेछु । म आधा र अधुरो मन लिएर काम गर्दिन।’

ऐश्वर्याको ‘फन्ने खान’मा अनिल कपुर र राजकुमार रावको पनि अभिनय छ। उनी चाँडै नै अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’मा पति अभिषेकका साथ देखिँदैछिन्। 

प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।