काठमाडौं । बलिउडमा नेपाली चेली सिजन पुन प्रमुख नायिकामा बन्ने अवसर प्राप्त गरेकी छन्। सुदुरपश्चिम नेपालको जाजरकोट स्थित भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडको फिल्म ‘हर जनम मे मिलेंगे’ मा मुख्य भूमिकामा अभिनय गर्न पाएकी हुन्। सिजन पुन अभिनित यस फिल्म हाल धमाधम छायांकन भइरहेको छ ।

यस चलचित्रलाई पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा रहेकी सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।

डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् ।

यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेकी छन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ।


प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।