इजरायल । विश्वका किराँतहरु एक हौ, आफ्नो भाषा–भेषभूषा, भाषा, लिपी, कला–संस्कृति संरक्षण र संवद्र्धन गरौं भन्ने नारा सहित इजरायलमा स्थापित किराँत राई यायोख्या नेपालको आयोजनामा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। उभौली सिली (यले दोङ) को अवसरमा भव्य सांगीतिक कार्यक्रम हुन लागेको हो।

ख्यातिप्राप्त गायक शंभु राई र ब्रबिन लिम्बु लगायतको सांगीतिक प्रस्तुति रहने यस कार्यक्रम इजरायलको यादखारुचिम–१५ तेल अविवमा बेलुका ७ बजे हुने भएको छ। त्यसको व्यापक तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी किराँत राई यायोख्या नेपाल इजरायलका संरक्षक कुमार राईले बताएका छन्।

किराँत परम्परा अनुसार, बैशाख पूर्णिमा बुद्ध जयन्ती देखि १ महिना प्रकृतिलाई खुशी पार्न भूमि पूजा उभौली शाकेला सिली नाच्दै मनाउने परम्परा उभौली सिली (यले दोङ)मा रहेको छ। सोही परम्परालाई इजरायलमा पनि जीवित राख्न यस कार्यक्रम आयोजना गरिन लागेको हो।

यसप्रकारका कार्यक्रमले किराँत राई परम्परा तथा संस्कृतिलाई नेपालमा मात्र नभइकन विश्वभर जीवित बनाउन विशेष सहयोग पुग्ने आयोजकहरुको विश्वास रहेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख २१ गते शनिवार ।