काठमाडौं। नेपाली साहित्यलाई अझ अमरत्व प्रदान गर्न स्वर साहित्य सिर्जना हुन थालेको छ। स्वर साहित्य सिर्जना मार्फत कृतिहरुलाई डिजिटलाइजेसन गरेर अमरत्व प्रदान गर्ने कार्य भएको हो।

यस कार्यको थालनी नेपाली साहित्यका शालिन अनि अग्रज कवि एवम् साहित्यकार हेमाङ्गराज गिरीले गरेका छन्। कवि तथा साहित्यकार गिरीको आफ्नै सिर्जना बरिष्ठ समाजसेवी सिद्धीबहादुर खड्गी संवन्धी कृतिलाई स्वर–साहित्यको माध्यमवाट अमरत्व प्रदान गर्ने कार्यको शुभारम्भ भएको छ।

यस कार्यको लागि लेखक गिरी आफैले काठमाडौंको पुतलीसडक स्थित म्युजिक पार्क स्टुडियोमा कृतिको स्वरांकन गर्न थालेका हुन्। चाँडै नै त्यस कृतिलाई युट्युबको माध्यमवाट स्वर–साहित्यको रुपमा सार्वजनिक गर्ने उदेश्यनुरुप लेखक गिरी तल्लिन बनेर लागिपरेका छन्।

बसन्ती, सेतो बाघ, प्रतिबद्ध, सत्प्रयास, धनको धब्बा र अनीता गरेर सातवटा उपन्यास लेखेर नेपाली साहित्यकै बाघ उपन्यासकार मानिएका डायमन शमशेर राणाको सेकेण्ड लेफ्टिनेन्टदेखि नख्खुजेलसम्मको जीवनी लेखेर बेजोड साहित्यिक इतिहास कायम गर्ने कार्य लेखक गिरीवाट भएको छ।

नेपाली साहित्यका बाघ उपन्यासकार डायनमन शमशेरको जीवन कृतिलाई उनकै जीवनकालमा निकालेर नयाँ आयाम थप्ने कार्य गिरीवाट भएको हो। सिद्धीबहादुर खड्गीको जीवनी स्वर–साहित्यमा सार्वजनिक गरेको लगतै डायमन शमशेरको जीवनीलाई पनि स्वर–साहित्य मार्फत अमर बनाउने योजनमा गिरी रहेका छन्।

नेपाली साहित्यका अमर कृतिहरुलाई अमरत्व प्रदान गर्न पुस्तकमा मात्र सिमित नगरिकन पछिल्लो पुस्ताले समेत सुन्न र बुझ्न डिजिटेलाइसन आवश्यक भएकोले स्वर–साहित्यको शुरुवात गरेको लेखक गिरीले भिजन संसार डटकमलाई भनेका छन्। लेखक गिरीका डायनमन शमशेर राणा, सिद्धीबहादुर खड्गी लगायतका जीवनी कृतिका अलावा लगायत दर्जनौ साहित्यिक कृति प्रकाशित छन्।

प्रकाशन मिति–२०७५ साल पुष ८ गते आइतवार ।