काठमाडौं। दर्जनौ–दर्जन नेपाली तथा नेपालभाषाका चलचित्र र गीतका भिडियोहरुमा स्वभाविक अभिनय गरेर उत्कृष्टता प्रदान गर्ने कार्य अभिनेता रुपेन्द्र श्रेष्ठवाट हुंदैआएको छ। अभिनेता रुपेन्द्रको जुनसुकै भूमिकामा पनि स्वभाविक अभिनय गर्ने शैली तथा कर्मशील सामाजिक सेवाले सुपरस्टार बनाएको छ। त्यसमाथि, रुपेन्द्रलाई पिता रत्नमान र आमा राममायाको निधन पश्चात निक्कै नै भावविव्हल बनायो।

यसले गर्दा विगत ६ बर्षदेखि मातापिताको पूण्यतिथिमा श्राद्ध गर्नुको अलावा विभिन्न बृद्धाश्रमहरुमा गएर त्यहाँ रहेका बृद्ध–बृद्धाहरुलाई मिठो–मसिनो खुवाउने तथा न्यानो लुगा लगाइदिने जस्ता सामाजिक कार्यहरु गर्दैआएका छन्। आमाघर लगायतका बृद्धाश्रममा जाँदा त्यहाँ कयन आमा र बुवाहरुको सेवा गर्न पाउंदा आफूले बुवा र आमा पाएको अनुभव हुने गरेको भनाई रुपेन्द्रको रहेको छ। यसलेगर्दा पनि कुनैपनि विशेष कार्यक्रम पूण्यतिथि तथा जन्म दिन मनाउन बृद्धाश्रम तथा बालआश्रम पुग्ने कार्य रुपेन्द्रवाट हुंदैआएको छ।

 

अर्कोतर्फ आफूले सक्दो सहयोग गर्ने कार्यमा पनि उनी पछि परेका छैनन्। आफ्नो पितालाई कलेजो दान दिएकी दानवीर छोरी सरिता महर्जनलाई सहयोग गर्ने कार्य देखि पुराना कलाकार ज्ञानेन्द्र महर्जन ईशारा तथा ख्वताबजीका कलाकार मानकृष्ण वा वाको उपचारमा आर्थिक सहयोग गर्नुको अलावा किडनी रोगवाट पीडित अग्रज फोटोपत्रकार आशाकाजी महर्जनलाई पहिलो पल्ट आर्थिक सहयोग गर्ने कार्यको शुभारम्भ गर्ने कार्य पनि रुपेन्द्रवाटै भएको हो।

धन नभएपनि अत्यन्त मन भएका मनकारी कलाकार रुपेन्द्रले बेला–बेलामा शिला सायमीव्दारा स्थापित न्हापांगु पलाःमा आवद्ध बृद्धा आमाहरुलाई खाजा तथा खाना खुवाउने कार्य पनि गर्दैआएका छन्। केही दिन अघिमात्र छोरीको जन्मदिनको अवसरमा नैकापमा रहेको कालिका बाल विकास केन्द्रका अनाथ तथा अशक्त बाल–बालिकाहरुलाई स्कुले झोला वितरण गर्ने कार्यको अलावा उनीहरुलाई एक छाक मिठो खाना खुवाउने कार्य पनि गरेका छन्।

यिनै समाज–सेवावाट कर्मवीर बनेका सुपरस्टार रुपेन्द्र श्रेष्ठको अनुहार ख्यातिप्राप्त गायक रामकृष्ण ढकालसंग मिल्ने गरेको छ। कतिले रुपेन्द्रलाई पहिलो पल्ट भेट्दा प्राय बुनियाद गीतका चर्चित गायक रामकृष्ण ढकाल भनेर झुक्किने गरेको पाइएको छ।

बुनियाद गीतको माध्यमवाट नेपाली आधुनिक संगीतको क्षेत्रमा कुनैबेला एकछत्र राज गर्ने गायक रामकृष्ण ढकालको अनुहारसंग जस्ताको तस्तै अनुहार मिल्ने गरेको कारण रुपेन्द्र कतिपय स्थानमा हैरान नै बन्ने गरेका छन्।

धेरैले रुपेन्द्रलाई रामकृष्ण ढकाल भनेर अटोग्राफ माग्ने देखि ठाउं–कुठाउं गीत गाउन कर गर्ने गरेवाट रुपेन्द्र हैरान बन्ने गरेका छन्। त्यसरी झुक्किने सवैलाई आफू रामकृष्ण ढकाल नभइकन रुपेन्द्र श्रेष्ठ भएको जिकिर गर्दासमेत नपत्याएर ठूलो गायक हुं भन्दैमा हामीलाई झुक्याउने भनेर उल्टै गाली गर्ने पाइएको उनको गुनासो रहेको छ।

गायक समेत रहेकाअभिनेता रुपेन्द्र श्रेष्ठले गायक रामकृष्ण ढकालले जस्तो सयौ गीत गाएका छैनन्। तीनवटा गीत मात्र गाएका छन्। ती तीन गीत मध्ये मुसु–मुसु न्हिला बोलको गीतल गत बर्षको पेज–थ्री अवार्ड समेत जितिसकेका छन्।

त्यसैगरेर फिल्म तिन तिकः महा बिकःवाट पेज–थ्री बेस्ट एक्टर अवार्ड पनि यो बर्ष रुपेन्द्रकै पोल्टामा परेको छ। २२ वटा गीत लेखिसकेका छन्। यसोभएतापनि आफूलाई गायक भन्दा नायक अझ कलाकार मात्र भनेको बढी रुचाउने रुपेन्द्रको अभिनय यात्रा प्रारम्भ भएको २१ बर्ष पुगिसकेको छ।

हरिहर शर्मा, अशेष मल्ल, बीरेन्द्र हमाल तथा प्रभाकर शर्मासंग अभिनय सिकेर फिल्मलाइनमा लागेको खुलासा गर्ने रुपेन्द्रले नेपालीमा भन्दा बढी नेपालभाषाका साना तथा ठूला पर्दाका चलचित्रमा अभिनय गरेका छन्। सुभाय, चन्द्रमान, तीन तिकं महाबिकं, बालाँमयजु,पागलपन, एक से एक, मिखाँ दुम्ह काँ, डाड–सन एण्ड मम,ख्वताबजी, समयबजी लगायत हाल रिलिज हुने तर्खरमा रहेको नेपालभाषाको अत्यन्त चर्चित फिल्म लाखेभाजुमा समेत प्रमुख क्यारेक्टरमा रुपेन्द्रले अभिनय गरेका छन्।

दर्जनौ गीतका भिडियोमा पनि त्यतिकै सफल अभिनय गरेका रुपेन्द्र राम्रा क्यारिकेचर मास्टर पनि हुन्। शेरवहादुर देउवा, रामचन्द्र पौडेल, केपी शर्मा ओली जस्ता प्रखर नेता तथा ख्यातिप्राप्त हांस्यअभिनेता हरिबंश आचार्यको क्यारिकेचर जस्ताको तस्तै गरेर सवैलाई कायल पार्न सक्ने कलाकारका रुपमा पनि उनलाई लिइने गरेको छ।

त्यसमाथि भद्रगोल सिरियलका पाँडेको पनि मज्जाले क्यारिकेचर गरेर पाँडेलाई समेत माथ खुवाउने कार्य उनीवाट साथीभाइको मेहफिलमा गर्ने गरेका छन्। गितार, मादल, धिमे, तबला, ड्रम लगायतका बाजा बजाउन सक्ने कुशल सीप पनि उनमा रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल पुष ९ गते सोमवार ।