काठमाडौं। पातिएका बूढाहरुको कथामा नयाँ चलचित्र चौका दाउ निर्माण भएको छ। ती पातिएका बूढाहरुमा ख्यातिप्राप्त हाँस्यअभिनेता सन्तोष पन्त र तैयब शाह देखिएका छन्। उनीहरुलाई साथ दिनेहरुमा तक्मे बूढा विल्सन विक्रम राई र रविन्द्र झा पनि पाइएका छन्।

यस चलचित्रको निर्माण नेपाली संगीतका मेलोडी किङ शंभुजीत बाँस्कोटाको कथामा उनैका सुपुत्र सौर्यजीत बाँस्कोटाले निर्माण गरेका हुन्। यही पुष २७ गते प्रदर्शनको रिलिज डेट तोकिएको यस चलचित्र चौका दाउलाई
पूर्णेन्दु झाले निर्देशन गरेका हुन्।

चार बूढाहरुका साथमा नायिका बर्षा,अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

चौका दाउ पूरै कमेडी बेसमा निर्माण भएको निर्माण युनिटले बताएको छ। जुवामा हार्दा चार बूढाहरु नाँगै गाडीवाट फर्केको हासो उठ्दो दृश्यलाई पोष्टरमा मज्जाल राखिएको छ।


प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।