०तिमी आयौ मेरो मनमा सुस्तरी–सुस्तरी

०  नक्कली मैया तिमीलाई घुमाउने छैन–रुपैया

      काठमाडौ। रुद्र शमशेर जंगवहादुर राणा नेपाली सांगीतिक आकाशमा अजय शमशेर राणाको नामवाट चम्केका छन्। राणा प्रधानमन्त्री बीर शमशेर जंगवहादुर राणाको पनाति अजय शमशेरले नेपाली सांगीतिक आकाशमा पिता–पूर्खाले नराखेको शान कायम गरिसकेका छन्। अझ अजय शमशेरलाई नेपालको अत्यन्त चर्चाको शिखरमा रहेको पप म्युजिक व्याण्ड इथोज व्याण्डको फाउण्डर गायकका रुपमा चिनिने गरेको छ।

      सन् २००७ मा इथोज व्याण्ड स्थापनावाटै चर्चामा आएको व्याण्ड हो। यो व्याण्डलाई स्थापित गर्न र गराउन अहोरात्र मेहनत गरेका अजय शमशेरको त्यो योगदानलाई इथोज व्याण्डका सवै व्याण्ड मेमवरहरुले मुक्तकण्ठले प्रशंशा गर्ने गरेका छन्। इथोज व्याण्डको पहिलो एल्बम आश्माका ७ वटा गीत मध्ये नक्कली मैया तिमीलाई घुमाउने छैन्–रुपैयाले प्रारम्भमा नै अजय शमशेरलाई चर्चामा ल्याएको पाइन्छ। यस गीतको भिडियोमा चर्चित नायक विनय श्रेष्ठ तथा नायिका निशा अधिकारीले अभिनय गरेका छन्। निर्देशन प्रणव जोशीले गरेका हुन्।

      त्यसपछिको दोश्रो एल्बम प्रस्तावका ८ वटा गीत मध्ये तिमी आयौ मेरो मनमा सुस्तरी–सुस्तरी बोलको गीतले अजय शमशेर र इथोज व्याण्डलाई शिखरमा नै पुराएको त्यो इतिहास रहेको छ। रेडियो–एफएम तथा टेलिभिजनहरुमा अझैपनि बज्ने गरेको यो गीत नेपाली पप गीतमा सदावहार सुपरहिट गीतको रुपमा नै लिइने गरेको छ। तेश्रो एल्बम प्रस्ताव–२ का ५ गीत मध्ये गल्ती मेरो छैन, स्पर्श, गोरी आऊ लगायतका गीत पनि चर्चामा रहेका छन्।

      करिब ४० वटा राम्रा र कर्णप्रिय गीत गाइसकेका अजय शमशेरको एक नयाँ गीत कसरी भनौ म बोलको गीत गायक राजेश हमाल अध्यक्ष रहेको रिभेल इभेन्ट म्यानेजमेन्ट कंपनीवाट निर्माण भएको छ। जुन गीतमा भारतीय -र्यापर अनुरागले -र्याप हानेका छन्। इथोज व्याण्डकै मोडल विष्णु लामा र राधाले यस गीतमा बेजोड अभिनय गरेका छन्।

     पिता–पूर्खा राणा खानदान र सवै आर्मीको जर्नेल तथा कर्णेल भएतापनि आफूमात्र सानैदेखिको गायनको रुचिले गायनमा नै निरन्तर लागिरहेको खुलासा पनि अजय शमशेरले गरेका छन्। त्यसको अलावा अजय शमशेर राम्रो भिडियो निर्देशक पनि हुन्। आफ्ना एक से एक हिट गीत प्राय भिडियोको निर्देशन गर्ने कार्य अजय शमशेर आफैले गरेका छन्। भिडियो निर्देशन गर्ने बेग्लै खुवी अजय शमशेरमा रहेको छ।

      निकट भविष्यमा चलचित्र निर्देशन गर्ने सोच पनि अजय शमशेरले गरेका छन्। यद्यपि, गीत गायन नै अजय शमशेरको रुचि तथा पेशा हो। यो रुचि तथा पेशामा आफै रमाउंदै अगाडि बढ्ने कार्य अजय शमशेरवाट भैरहेको छ।

प्रकाशन मिति–२०७५ साल असार २२ गते शुक्रबार ।