काठमाडौ। बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ। सोनालीले सामाजिक सन्जाल इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई क्यान्सर भएको खुलासा गरेकी हुन्। सोनालीको हाल अमेरिकाको न्यूयोर्कमा उपचार भइरहेको छ। क्यान्सर उच्चतहमा पुगेको बताएकी सोनालीले के को क्यान्सर भनेर खुलाएकी छैनन्। सोनालीको चौथो स्टेजको क्यान्सर भएको पनि बताइएको छ।

भारतीय मिडियाहरुका अनुसार सोनालीलाई गत महिना मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेला सोनालीको पाठेघर सम्बन्धी समस्या भएको पनि बताइएको थियो। चौथो चरणको क्यान्सर शरीरभर फैलिने खतरा हुन्छ। यसलाई रोक्न निकै कठिन हुने चिकित्सकहरु बताउँछन् । यसको स्थिति थाहा पाउन भने कुन अंगमा भएको क्यान्सर हो भन्ने महत्वपूर्ण हुने चिकित्सकको भनाई छ।

सोनालीले इन्स्टाग्राममा आफू ठूलै रोगको सामना गरिरहेको र परिवारका साथै साथीभाइको सहयोगले आफू यो रोग जित्न सक्ने अवस्थामा पुगेको पनि बताएकी छन्। सोनालीले आफू आशावादी रहेको र यसका लागि डटेर लड्ने समेत बताएकी छन्।

मुम्बईको हिन्दुजा हेल्थकेयर अस्पतालमा भर्ना भएपछि सोनाली अमेरिका गएकी थिइन् । उनको सन् २००२ मा चलचित्र निर्देशक गोल्डी बहलसंग बिबाह भएको थियो। उनीहरुका १३ वर्षका छोरा रणवीर छन् । सोनालीको पछिल्लो फिल्म सन् २०१३ मा ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’ रिलिज भएको थियो ।

उनी त्यसपछि टिभी शोहरुमा देखिँदै आएकी थिइन्। उनले यही क्यान्सरकै कारण गत महिना नै ‘इन्डियाज बेस्ट ड्रामेबाज’ बाट नाम फिर्ता लिएकी थिइन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल असार २२ गते शुक्रबार ।