काठमाडौं। बेलायतमा संपूर्ण छायाँकन भएको नेपाली कथानक चलचित्र एटीनको सार्वजनिक प्रदर्शन बेलायतवाटै भएको छ। बेलायतको राजधानी लण्डनमा भव्य प्रदर्शन भएको छ।

ह्यारोस्थित सफारी सिनेमा हलवाट चलचित्र एटीनको सार्वजनिक प्रदर्शन भएको हो। जुन प्रदर्शन अत्यन्त सफल भएको जानकारी यस चलचित्रका अभिनेता सनम कुमार बैरागले भिजन संसार डटकमलाई बताएका छन्। बेलायतका प्रतिष्ठित व्यक्ति–विशेषहरुको चलचित्र एटीनको प्रदर्शनीमा उपस्थिति रहेको र सवैले चलचित्र एटीनलाई मन पराएको दावी पनि अभिनेता बैरागको रहेको छ।

लण्डनको अपार सफलता पश्चात अव बेलायतकै अल्डरशट स्थित एम्पाएर हलमा यही आउने १० मार्च अर्थात फागुन २६ गते आइतवारका दिन प्रदर्शन हुने भएको छ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन्। लामाले यसअघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन्।

सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी–हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाउन खोजिएको छ।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र एटीन मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, कलाकार तथा सिनेमाेटाेग्राफर प्रतीक दुधराज, सनम कुमार वैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ।

संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल एक्स पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ।
प्रकाशन मिति–२०७५ साल फागुन २२ गते बुधवार ।