लण्डन। बेलायतमा यो बर्षको मिसेस नेपाल युकेको ताज बिनु लामिछानेले पहिरेकी छन्। लण्डन फेशन हाउसले आयोजना गरेको ‘दोस्रो मिसेस नेपाल यूके २०१८’ को ताज बिनु लामिछानेले पहिरिएकी हुन्। विनुले पब्लिक च्वाइसको ताज समेत जितेकी छन्।

लण्डनको ह्यारोे स्थित ह्यारो फुटबल क्लबमा आयोजित भब्य समारोहमा बेलायतका विभिन्न स्थान र पेशामा आवद्ध १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रतियोगी नम्बर १३ कि बिनुले मिसेस नेपाल युकेको ताज जितेकी हुन्।

नेपालको नुवाकोटमा जन्मेकी बिनुले तामाङ जातिको पहिरनमार्फत दर्शकहरुको मन जितेकी थिइन। डेन्टल नर्सिङकी विद्यार्थी उनले नृत्य, समाजसेवा र महिला शसक्तिकरणको क्षेत्रमा काम गर्ने इच्छा ब्यक्त गरेकी थिइन्।

प्रतिस्पर्धाबाट प्रथम रनर अपको उपाधि बन्दना केसीले जितिन भने सबु सेन्चुरी र सबिना श्रेष्ठले सेकेन्ड रनरअपको उपाधि चुमेकी छन्। प्रथम मिसेस नेपाल यूके २०१७ की विजेता आस्था जोशीले संयोजन गरेको प्रतिस्पर्धामा कुशल श्रेष्ठ, डा.रजनी रिजाल, सितु खरेल, रोजिना प्रधान राई, स्वेता हुसेन निर्णायक थिए।

फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाइस, फोटोजेनिक, क्याटवक, वेष्ट शेफ, ब्यूटी फर चेन्जलगायतका टाइटल राखिएको प्रतियोगितामा बेलायतस्थित नेपाली दूतावासका उप प्रमुख शरदराज आरन, एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीलगायत सयौंको सहभागिता थियो। समारोहमा विभिन्न नृत्य तथा गीत पनि प्रस्तुत गरिएको थियो। 

प्रकाशन मिति–२०७५ साल कात्तिक ९ गते शुक्रबार ।