काठमाडौं। दुई बर्षअघि बेलायतमा संपूर्ण छायाँकन भएर बेलायतवाटै सार्वजनिक प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र एटीन अव अमाजिन डट को डट युकेको प्राइम टाइममा हेर्न सकिने भएको छ। डिजिटल फिल्म प्रदर्शनको विलकुलै नौलो प्रयोगको रुपमा रहेको यस प्लेटफर्मवाट नेपाली फिल्म रिलिज भएको हो। जसवाट सहज ढंगवाट चाहेको समयमा चाहेका बेला हेर्न मिल्ने व्यवस्था भएको छ।

प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको चलचित्रलाई बेलायतमा स्थापित चलचित्रकर्मी प्रेम लामाले निर्देशन गरेका हुन्। लामाले यसअघि बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन्। चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी–हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान र त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाउन खोजिएको छ।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र एटीन मा प्रसुना कंडेल, राजदिप राई, अम्बिका राई, कलाकार तथा सिनेमोटोग्राफर प्रतीक दुधराज, सनम कुमार वैराग, रितेश चाम्स लगायत नेपाली समुदाय बाहिरका क्रिश एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ।

संगीत चन्द्र कुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल एक्स पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ।

प्रकाशन मिति–२०७८ साल भाद्र ६ गते आइतवार ।