काठमाडौं। मल्टीट्यालेन्टेट अभिनेत्री एन्सर्ज गुरूङको प्रमुख भूमिका रहेको नेपाली कथानक चलचित्र आमाको मन प्रदर्शन भएको छ। पश्चिम नेपालको लमजुङको सदरमुकाम बेसीशहरमा चलचित्र आमाको मन प्रदर्शन भएको हो।

बेसीशहरको एकमात्र सिनेमा हल अन्नपूर्ण चलचित्र हलमा आमाको मन माघ ५ गते शनिवार भव्य प्रदर्शन भएको हो। त्यसदिन तीनवटै–शोमा दर्शकहरु खचाखच नै भरिएको थियो। चलचित्र आमाको मनलाई लमजुङ्गेहरुले अत्यन्त रुचाएको दावी अभिनेत्री एन्सर्ज गुरुङको रहेको छ। यसअघि यस चलचित्र मनाङ, तथा रुपन्देहीका विभिन्न स्थानहरुको अलावा देशवाहिर हङकङमा समेत प्रदर्शन भैसकेको जानकारी पनि अभिनेत्री गुरुङले दिएकी छन्।

निर्देशक जनक गुरुङको निर्देशनमा बनेको चलचित्र आमाको मनमा एन्सर्ज गुरुङको अलावा विवेक गुरुङ, रामप्रसाद गुरुङ, पिउस गुरुङ, सरस्वती गुरुङ, सपना गुरुङ, डुपा दुरा, गीता गुरुङ,अनिता गुरुङ, उमेश गुरुङ, सुजन गुरुङ, कृष्टिना गुरुङ, मीरा गुरुङ, सरु गुरुङ, कीर्तिमान गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्र को छायाकन मनाङको ताचै गाउंमा गरिएको हो भने चलचित्रको छायाँकन खेम राना मगरले गरेका हुन्। अव चाँडै नै काठमाडौं र पोखरामा प्रदर्शन गर्ने तयारी भैरहेको निर्माण संस्थाले भनेको छ।

प्रकाशन मिति–२०७५ साल माघ १० गते विहीवार ।