काठमाडौं। कोरोनाको कहरमा नेपाली चलचित्रका महानायक राजेश हमालले चलचित्र क्षेत्रको पीडामा राहत दिने काम नगरेको भन्ने कुराले हंगामा भएको छ।

तितो–सत्यवाट हिट बनेकी अभिनेत्री दीपाश्री निरौलाले प्राइम टेलिभिजनको रजतपट अंकलमा राजेश हमाल मात्र महानायक बन्यो–राजेश हमाललाई फिल्म खेलाउने महानायक बन्न सकेन भन्दै महानायक हमालको गंभीर टिप्पणी गरेपछि हंगामा भएको हो।

महानायक भयो भन्दैमा एक्सरसाइज गरेको फोटो मात्र
राखेको भन्दै कोरोनाको विषम परिस्थितिमा सक्दो सहयोग गरिदिनुहोला–नत्र केही वोलिदिनुहोला भनेको विषयमा सोही टेलिभिजनको युट्युब च्यानल कमेन्ट बक्समा अभिनेत्री दीपाश्री निरौलाको घोर विरोध गर्दै तथानाम गालीगलौज गर्ने कार्य भएको छ।

महानायक राजेश हमालका फ्यानहरुले गरेको तल्लो श्रेणीको गाली–गलौजमा नगलिकन अभिनेत्री दीपाश्री निरौलाले दर्शकसँग माफी मागेकी छन्। दीपाश्रीले महानायकका रुपमा राजेश हमाललाई भगवान नै मान्नुपर्छ भन्ने पक्षमा आफू नरहेको उल्लेख गरेकी छन्।

‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौदेखि सहयोग गरेका प्राविधिकलाई परेको पीर–मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले बोलेको हुँ’, दीपाश्रीले फेसबुकमा भनेकी छन्, ‘तथापी मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म सबै हमालज्यूको फ्यानहरूसँग माफी माग्दछु।’

दीपाश्रीले अगाडि लेखेकी छन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन।’


प्रकाशन मिति–२०७७ साल असार १८ गते विहीवार ।