काठमाडौं। चीनको सान्यामा आयोजित विश्व सुन्दरी प्रतियोगितामा टप–१२ वाट आउट बनेकी मिस नेपाल श्रृंखला खतिवडाको चाहना नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने हो।

प्रधानमन्त्री त्यो पनि पहिलो महिला प्रधानमन्त्री बन्ने आफूमा भित्रैदेखि चाहना रहेको खुलासा विश्व सुन्दरी प्रतियोगितामा भाग लिएर फर्केको लगतै काठमाडौंमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल खतिवडाले उक्त कुरा भनेकी हुन्।

मिस नेपाल खतिवडाले नेपाल हेरक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफू पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको आफुले अनुभव गरेको सुनाएकी छन्।

प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफू टप १२ बाटै बाहिरिनु परेको खतिवडाको भनाई रहेको छ। ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा आफू टप–१२ बाटै आउट बन्नु परेको नमज्जा पनि उनले भनेकी छन्।

उनले प्रतियोगितामा भोटिङबाहेक प्रतियोगीहरुको एक महिनादेखिका क्रियाकलापका आधारमा जजमेन्ट हुने गरेकोले आफू त्यसमा कमजोर भएको हुनसक्ने बताइन् । विश्व सुन्दरीको ताज पहिरिन नपाएपनि समाजमा आफूलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएपछि आफूले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड उनले हात पारेकी हुन्।
प्रकाशन मिति–२०७५ साल मंसीर २८ गते शुक्रवार ।