काठमाडौ। नेपालका मिस नेपालहरुलाई नायिका बनाउने र उनीहरुको नायक बन्ने गजबको नयाँ कामको शुरुवात गर्ने गायक सीताराम पोखरेलले गरेका छन्। सीतारामले नेपालकी प्रथम मिस नेपाल रुवि राणालाई आफ्नो गीतको भिडियोमा नायिका बनाएका हुन्।

त्यसपछि मिस नेपाल रुवि राणाको फेरि चर्चा भएको हो। त्यसैगरेर, अर्की मिस नेपाल सुमी खड्कालाई पनि नायिका बनाउने कार्य सीतारामवाट भएको छ। सीतारामको त्यसपछिका मिस नेपालहरुलाई पनि एक पछि अर्को गरेर आफ्ना गीतका भिडियोहरुमा नायिका बनाउने सोच भएतापनि पूरा हुन सकेन।

त्यसपछिका कतिपय मिस नेपालहरुको गीतको भिडियोमा चाहना नपाएपछि सीताराम पोखरेल नेपाली चलचित्रका एक से एक नायिकाहरु लिन बाँध्य बनेका हुन्। यसक्रममा नेपाली चलचित्रका नंबरी नायिकाहरु निशा अधिकारी, रञ्जना शर्मा, उषा पौडे्ल, नन्दिता केसी, अरुणिमा लम्साल, दीपा शाही, सुमिना घिमिरे, झरना थापा, सुरभी जैन, मेनुका प्रधान, सुप्रिया कटुवाल र अनु शाह सीतारामका गीतका नायिका बनिसकेका छन्।

१७ बर्षदेखि गीतको भिडियो बजारमा ल्याउंदै गरेका गायक सीताराम पोखरेलको गीतका भिडियो पनि १७ वटा नै पुगिसकेको छ। ती सवै गीतका भिडियो कुनै सटमुबी भन्दा कम छैन्। पछिल्लो रिलिज भएको नयाँ गीत स्वार्थ वोलको गीतको भिडियोले त तहल्का मच्चाइरहेको छ। जनकदीप पराजुलीको निर्देशनमा निर्माण भएकोे गायक पोखरेलको गीतको भिडियो कुनै सर्टमुभी भन्दा कम छैन्। भिडियोमा गीतको बोल अनुसारको कथावस्तु प्रस्तुत गरिएको छ। कथा आर्मी अफिसरको फ्लाँस ब्यांक रहेको छ।

युद्धको मैदानमा शत्रुसंग ज्यानको बाजी लगाएर लडाई लड्ने आर्मी अफिसरको घरमा अरुले नै रजाई गरेको कथा बुनिएको छ। आर्मी अफिसरको मेजर भूमिकामा गायक पोखरेलले बेजोड अभिनय गरेका छन्। गायक पोखरेलको नायिकाको भूमिकामा अनु शाह रहेकी छन्। साथमा सुवास पराजुली, अर्जुन गौतम, प्रांस तिवारी लगायतको अभिनय रहेको छ। रमेश अधिकारीको गीत तथा कर्णराज कार्कीको संगीत रहेको छ।

यस्ता कर्णप्रिय सयौ गीतका गायक स्रष्टा सीताराम पोखरेलको गायन यात्रा विसं.२०४४ सालवाट भएको हो। यो साल सीताराम पोखरेलको जिन्दगीमा ह्याट्रिक नै भएको छ। यसै साल सीतारामको पहिलो गीतको रेडियो नेपालमा रेकर्ड भएको थियो। अनि यसै बर्ष झापा धुलाबारी निवासी स्व.सीताराम भट्टराईकी कान्छी छोरी रमा भट्टराईसंग सीताराम पोखरेलको मागी विवाह भएको हो।

विवाहको लागि कुरा छिन्न जांदा अस्थायी जागिरका कारण विवाह विथोलिने हो कि भन्ने सोच गरेका सीतारामको त्यो पीडालाई कम गर्ने कार्य हाल बेलायतमा स्थायी बसोबास गर्ने जेठीसासु आशा शर्मावाट भयो। आशा शर्माले कुरा छिन्ने क्रममा गीत गाएमा बहिनी दिने ग्रीन सिग्नल दिएपछि गीत गाएको त्यो क्षणलाई जिन्दगीकै अविस्मरणीय क्षणका रुपमा सीतारामले लिएका छन्।

विवाह भएको सोही साल जागिर पनि स्थायी बनेपछि सीतारामको लागि रमासंगको विवाह लक्की नै सावित भयो। नेपाल आयल निगममा निर्देशक तथा प्रवक्तासम्मको उच्च पदमा पुगेर हालै स्वेच्छिक अवकाश प्राप्त गरेका हुन्। अर्थशास्त्रमा स्नातक सीतारामका खोजीहेरेनौ, विनाकारण, स्पार्क, अक्टोबर फोर, सम्मान र सम्मान २ नामक एल्बमहरु बजारमा आइसकेका छन्।

नेपाल स्वतन्त्र पत्रकार पर्सावाट सम्मान दिएपछि सीतारामको जिन्दगीमा सम्मानको लर्को नै भयो। सिम्पल सम्मान, भक्तपुर नाट्य सम्मान, पूर्वान्चल संगीत–कला सम्मान, तन्नेरी सम्मान, शिखर सम्मान, अन्नपूर्ण म्युजिक अवार्ड, राष्ट्रिय नागरिक सेवा सम्मान, लायन्स क्लब अफ पोखरा अन्नपूर्ण सम्मान, राष्ट्रिय गायन सम्मान लगायत दर्जनौ दर्जन सम्मान प्राप्त गरिसकेका छन्।

लायन्स क्लव तथा व्यक्तिगत रुपमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेर समाज सेवा गरिसकेका सीतारामले विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पवाट पीडितहरुको लागि विभिन्न राहत सहयोग बाँड्ने कार्य भएको छ। गत बर्ष मात्र आफ्नो जन्म दिनको अवसर पारेर अक्टोबर ४ तारिखका दिन गोकर्णको स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकालाई राहत सामाग्री प्रदान गरेर सहयोग गर्ने कार्य गरेका छन्।

समाज सेवा गर्दा मनमा अपार शान्तिको महशुश हुने गरेको सीतारामले भनेका छन्। सिम्पल आर्टस् सामाजिक संस्था बानेश्वरका सल्लाहकार तथा नेपाल सांगीतिक संघ र नेपाल गायन समाजका सदस्य सीताराम बाँचुन्जेल गीत गाएरै बाँच्ने प्रतिबद्धता व्यक्त गर्छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल जेठ १६ गते बुधवार ।