काठमाडौ। ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्
“हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती”

स्वर सम्राट नारायण गोपालका साथमा दिदी बनेर मुनामदन नाटकका लागि यिनै गीत गाउने कालजयी गीतकी सदावहार गायिका कमला श्रेष्ठको ६९ बर्षको उमेरमा दुःखद निधन भएको छ।


लामो समयदेखि मुटुरोगबाट पीडित गायिका श्रेष्ठको उपचारकाक्रममा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो। विस. २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘नौ गेडीको माला मेरो’ बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठका लोकगीत र आधुनिक गरी २०० भन्दा बढी गीतहरु रहेका छन् ।

विसं.२०२५ सालदेखि रेडियो नेपालमा गायिकाकारुपमा काम गरेकी श्रेष्ठले साँस्कृतिक संस्थानमा ३८ वर्ष काम गरेकी थिइन् ।
गायिका श्रेष्ठका ‘सरर मलेवा घुम्छ’, ‘बादलमुनि मायालाई’, ‘नेपाली जनताको लहर हरर गुडने भयो मोटर’लगायतका गीतहरु चर्चित रहेका छन् । विसं. २००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा श्रेष्ठको जन्म भएको थियो।
प्रकाशन मिति–२०७४ साल चैत्र ५ गते सोमवार ।