yogendra-mani-dahal-1काठमाडौ। नेपालका चर्चित गीतकार तथा गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन्। राससका अनुसार गीतकार दाहाललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो।

दाहाललाई दाहाल कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए। कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

yogendra-mani-dahal-2

गीतकार दाहाल २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए । त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो। गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’, लगायत गीतिसङ्ग्रह प्रकाशित भएका छन् ।
प्रकाशन मिति–२०७३ साल कात्तिक ४ गते विहीवार ।