काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश गर्ने र पारित गर्ने गरिन्छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।