लण्डन । बेलायतका विभिन्न शहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ । पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास र टप टेनमा पर्न सफल प्रतिस्पर्धी प्रमिला राई बुधबार बिहान लण्डन उत्रिएका हुन्। उनीहरुका साथमा आएका नेपाल आइडलका उदघोषक सुशील नेपाल र गायक विवेक श्रेष्ठलाई आयोजकले विमानस्थलमा स्वागत गरेको छ।

स्वागतका लागि आयोजक मनकामना रेमिटका प्रबन्ध–निर्देशक राजाराम गिरी, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ,यती एसोसिएसनका पूर्वअध्यक्ष उमेश मोक्तान, सपन इन्टरटेन्मेन्टका निर्देशक सपन कुमार राई, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष दीपक थापा, पत्रकार नबिन पोख्रेल, धुर्ब अर्याल ,कुशल श्रेष्ठ लगायत हिथ्रो विमानस्थलको टर्मिनल ४ मा पुगेका थिए।

नेपाल आइडल विजेताहरुको पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने आयोजकले भनेको छ। कार्यक्रम अत्यन्त सभ्य र भव्य हुने जानकारी पनि आयोजकले दिएको छ।


प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।