काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका छन्। उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो। फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो। चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ।

मंसीर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो। सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो। सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ घोषणा गर्ने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।
प्रकाशन मिति–२०७७ साल मंसीर २४ गते बुधवार ।