–सुनकुमार अवाल
काठमाडौं। भिजन संसार डटकमका समाचार सम्पादक तथा नामी साप्ताहिकका सम्पादक श्याम स्मृत क्रियाशील पत्रकारिता सम्मानवाट सम्मानित बनेका छन्। बक्स अफिस इन्टरनेशनल ग्रुपव्दारा आयोजित बल्कबस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा सम्पादक स्मृत सम्मानित बनेका हुन्।

सम्पादक स्मृतका साथमा अग्रज पत्रकार रामहरि सिल्वाललाई अग्रज पत्रकारिता सम्मान तथा रामजी बगालेलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको थियो। पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरले तीनैजना सम्मानित पत्रकारहरुलाई सम्मान प्रदान गरेका थिए।

विगत १६ बर्षदेखि क्रियाशील पत्रकार आर के सुवेदीको अग्रता तथा संयोजनमा आयोजना हुंदैआएको ब्लकबस्टर नेपाली फिल्म अवार्डमा तीन पत्रकारहरुको विशेष सम्मानको अलावा खेलजगतका खेलाडी तथा फिल्म क्षेत्रका कलाकारहरुलाई विशेष सम्मान, कदरपत्र तथा अवार्ड प्रदान गरिएको थियो।

जसमा, बल्कबस्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल,बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई प्रदान गरिएको छ।

त्यसैगरी अखिल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ र पूर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्री फुटबल बिधाबाट सम्मानित भएका छन्।

कोभिड १९ कोरोनाको महामारीका विचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेड दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएको छ भने यो बर्ष रिलिजभएको कुल २१ चलचित्रलाई उछिन्दै वर्ष उत्कृष्ट व्यवसायिक चलचित्रमा “म यस्तो गीत गाउँछु-2” बाट नायक पल शाह,नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा,वितरक करण श्रेष्ठले सोही चलचित्रबाट ट्रफी प्राप्त गर्न सफल भएका छन।

वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक मदन घिमिरे, अभिनेता आर पि पन्त, निर्माता तथा निर्देशक नरेश पौडेल, ख्यातिप्राप्त गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, निर्देशकज्ञानेन्द्र देउजा,कलाकार उत्तम केसी, निर्देशक सुभाष गजुरेल, प्रथम महिला चलचित्र वितरक सुनिता भट्टराई, चलचित्रकर्मी सरोज शर्मा पनि सम्मानित बनेका थिए।
प्रकाशन मिति–२०७८ साल चैत २८ गते सोमवार ।