काठमाडौं। हलिउडकी हट गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ। फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने भएको जनाइएको छ।

बीबीसीलगायतकाका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुका अनुसार ६२ बर्षिया गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने युनिभर्सल पिक्चर्सले घोषणा गरेको उल्लेख गरेको छ। फिल्ममा अमेरिकाको न्युयोर्कको सुकुम्बासी बस्तीदेखि ग्लोबल स्टारडमसम्म म्याडोनाले गरेको वास्तविक कथा समेटिने बताइएको छ।

फिल्मलाई एमी प्यास्कलले निर्माण गर्ने बताइएको छ। यसअघि एमीले सन् १९९२ मै उनले अ लिग अफ दियर ओनु बनाउने क्रममा नै म्याडोनासँग काम गरेकी थिइन् । फिल्मको स्क्रिप्ट भने म्याडोनाले ओस्कर विजेता स्क्रिनराइटर डियाब्लो कोडीसँग मिलेर लेख्नेछिन्।

कोडीले सन् २००७ मा चलचित्र जुनोका लागि ओस्कारमा बेस्ट स्क्रिनप्ले अवार्ड जितेकी थिइन् । म्याडोनाले भने यसअघि सन् २००८ मा ब्रिटिस ड्रामा फिल्थ एन्ड विज्डम निर्देशन गरेकी थिइन् । उनको अन्तिम एल्बम भने सन् २०१९ को म्याडम एक्स हो ।

 

प्रकाशन मिति–२०७७ साल असोज ६ गते मंगलवार ।