–श्याम स्मृत
काठमाडौं। हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का फिक्का बनेको छ।

भारतीय तबला उस्ताद सलमान खाँनको तबलासंग नागेन्द्र श्रेष्ठको केही समयअघि हारमोनियमको मल्लयुद्ध नै भएको थियो। त्यस सांगीतिक मल्लयुद्धमा ननस्टप डेढघण्टा हारमोनियम बजाएर हारमोनियमकै एक से एक बेजोड गीत बजाएर नयाँ रेकर्ड नै राखेका छन्। हङकङको तन्दुरी नाइटमा आयोजित कार्यक्रममा हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठले उक्त रेकर्ड राखेका हुन्।

एक पछि अर्को गीत गरेर हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियमवाट म प्यारी बेचिदिन्छु बहार बेचिदिन्छु–किन्छु मेरो प्यारो भगवान जस्ता दर्जनौ गीत बजेपछि हङकङमा रहेका स्वदेशी तथा विदेशी सवै तीनछक्क परेका थिए। हारमोनियमवाटै एक से एक गीत गुन्जाउन सफल हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठले अव हारमोनियमको माध्यमवाट विश्व खायो भन्नेहरुको पनि कमी भएन।

भारतीय उस्तादहरुले त नागेन्द्र श्रेष्ठको विशेष सम्मान नै गरेका थिए। विशेषत स्वदेश तथा विदेशवाट हङकङमा सांगीतिक कार्यक्रमको टोली आउंदा हारमोनियम बजाउन नागेन्द्र श्रेष्ठलाई नै संझ्ने गरेको पाइन्छ। नागेन्द्रको हारमोनियम विनाको सांगीतिक प्रस्तुति खल्लो खल्लो हुने गरेको भनाई पनि धेरैको मुखवाट सुन्न हङकङमा पाइन्छ।

धेरैको प्यार मोहब्बत तथा इस्क पाउंदा नागेन्द्र अत्यन्त खुशी बनेका छन्। आफूलाई हारमोनियमको उस्ताद बनाउनमा आफ्नो हारमोनियमको गुरु प्रसिद्ध संगीतकार स्वर्गवासी मदन परियारको निक्कै देन भएको नागेन्द्र श्रेष्ठले वताएका छन्।

काठमाडौंमा रहदा संघर्षको ती दिनहरुमा महाबौद्धमा पातको टपरीमा मम खाएर मदन परियारसंग हारमोनियम सिकेका ती पलहरुलाई हङकङ वसेर नागेन्द्र श्रेष्ठले संझिरहेका छन्। चाँदनीमा बग्छ खोला देखि फूलजस्तो माया, साँझ ढलिगयो, आवाजसंग आवाज लगायत दर्जनौ दर्जन हिट गीतका गायक नागेन्द्र श्रेष्ठको सांगीतिक सफलताको प्रतिक अरु कोही नभइकन जीवन संगीनी रचना प्रधान नै हुन्।

रचना प्रधानसंग चौतिस बर्षअघि चुर्लुम्म प्रेममा परेर विवाह गरेका नागेन्द्र श्रेष्ठको सांगीतिक धरातलले थप उचाई पाएको हो। रचना प्रधानको साथ तथा थप उत्प्रेरणाले सांगीतिक क्षेत्रमा निरन्तर उज्ज्वलमय दीप नै बनेर उज्ज्वलित बन्दै प्रकाशमय बनेका नागेन्द्र पत्नी रचना सहित हङकङ पुगेर त्यतैको आइडी होल्डर समेत बने। तरपनि, नेपाली गीत–संगीतलाई हङकङमा चिनाउन कुनै कसी वाँकी नराखेका नागेन्द्र र हङकङ नेवार समाजका अध्यक्ष समेत रहेकी रचना प्रधानको यो बर्षको जेठ महिनाको तेश्रो हप्तामा आइपुग्दा विवाहको चौतिस बर्ष पुगेको छ।

शुभ विवाहको चौतिस बर्ष पुग्दा फर्केर हेर्दा दुवैले धेरै संघर्ष गरेको संझेका छन्। वीरगञ्जको श्रीपुरमा जन्मेका युगिन गायक नागेन्द्र श्रेष्ठ र काठमाडौंको बालाजु बाइसधारा चोकमा जन्मी हुर्केकी रचना प्रधानको प्रेम अनि विवाह बेस्वाद नभइकन स्वाद नै स्वाद बनेको दुवैले भनेका छन्।

दुवैले फर्केर हेर्दा गुनासो गर्नुपर्ने कुनै कुरा नभएको पनि भनेका छन्। खुशी हुन त यी सफल दम्पत्तिवाट जान्नु पर्दछ। नागेन्द्र दम्पत्तिका एक छोरा र छोरी छन्। अहिले त बुहारीका साथमा दुई जुम्ल्याहा नातिनी पनि छन्। खुशी नै खुशीको बहार मात्र पाएको पनि दुवैले भनेका छन्।
(नामी साप्ताहिकवाट साभार )
प्रकाशन मिति–२०७८ साल असार ११ गते शुक्रवार ।