काठमाडौं। हावाहुरीका कारण काठमाडौं पनि अछुतो हुन सकेन। काठमाडौंमा पनि हावाहुरीको असर परेको छ। आइतवार बेलुका सवा ६ बजेदेखि ६ बजेर ४० मिनेटसम्म आएको हावाहुरीका कारण काठमाडौंका सडकमा गुडिरहेका सवारी साधन तथा पैदलयात्रीहरुलाई निक्कै समस्या पारेको थियो।

कतिपय जस्तापाताका छाना नै उडाउने किसिमले आएको हावाहुरीले हिंडडुल गर्न अत्यन्त कठिनाइ भएको थियो। ट्राफिक व्यवस्थापनमा कठिनाई उत्पन्न भएको थियो। कतिपय स्थानमा हावाहुरीका कारण सामान्य तथा असामान्य क्षति भएतापनि त्यसको यकिन रिपोर्ट भने आउन सकेको छैन्। हावाहुरीका कारणवाट नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान तथा अवतरण प्रभावित भएका छन् ।

बेलुकी सवा ६ देखि ६ बजेर ४० मिनेटसम्म विमानस्थल बन्द हुँदा कैयौं आन्तरिक र बाह्य उडान बन्द भएका छन् । हावाहुरीका कारण काठमाण्डौमा अवतरण हुन नसक्दा ३ वटा जहाज डाइभर्ट भएका छन् । विमानस्थलका अनुसार चीनको ग्वानझाउबाट आएको चाइना साउदर्नको जहाज लखनउ डाइभर्ट भएको छ । यस्तै फ्लाइ दुबई पनि लखनउ डाइभर्ट भएको छ भने दोहाबाट काठमाण्डौ आइरहेको कतार एअरवेजको जहाज कोलकाता डाइभर्ट भएको छ ।

साँझको व्यस्त समयमा विमानस्थल बन्द हुँदा एक दर्जन आन्तरिक उडान तथा अवतरण प्रभावित बनेका हुन्। डाइभर्ट भएका जहाज मौसममा सुधार भएसँगै त्रिभुवन विमानस्थल आउने क्रम भने जारी भएको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १७ गते आइतवार ।