काठमाडौ। बलिउडकी अति सुन्दरी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा सारा विश्व लोभिएका छन्। यिनै रहस्यमय सुन्दरता बोकेकी ऐश्वर्या बुधबारवाट ४४ बर्ष पुगेकी छन्। बुधवार नै ऐश्वर्याको आफ्नो ४४ औँ जन्मदिन मनाएकी छन् । सन् १९७३ नोभेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् १९९४ मा मिस वल्र्डको उपाधि जितेकी थिइन्।

को हुन त ऐश्वर्या ?

ऐश्वर्या हिरोइन होइन, खासमा आर्किटेक्चरर बन्न चाहन्थिन् । उनलाई अभिनय, मोडलिङमा रत्तिभर पनि रुचि थिएन। आर्किटेक्चरर बन्ने सोच बनाउनुअघि उनी औषधिको क्षेत्रमा लाग्न चाहन्थिन्। तर, त्यता सफलता नमिलेपछि उनले आर्किटेक्टको पढाइ गरेकी हुन् । उनले रेहजा कलेज अफ आट्र्समा अध्ययन गरिन् । तर, पढाइ पूरा नगर्दै मोडलिङको दुनियाँमा प्रवेश गरिन्।

ऐश्वर्या भारतमा मात्र होइन, विश्वका थुप्रै देशमा निकै चर्चित छन् । नेदरल्यान्डको बोर्ड अफ टुरिजमले ट्युलिप फूलको नाम ऐश्वर्या राखेको छ। त्यहाँ भव्य कार्यक्रम आयोजना गरेर ट्युलिपलाई ऐश्वर्या घोषणा गरिएको थियो । बोर्डका प्रबन्ध निर्देशकले भारतीय अभिनेत्री ऐश्वर्याको सुन्दरताबाट प्रभावित भई फूलको नाम परिवर्तन गरेको बताएका थिए।

ऐश्वर्याको नाम विश्वभरका सुन्दरी महिलामध्येमा आउँछ । जो–कोही पनि ऐश्वर्याको सुन्दरताप्रति मोहित भइहाल्छन् । ऐश्वर्याको सुन्दरताको खास रहस्य के होला ? यसबारे मान्छेहरू चर्चा गर्ने गर्दछन् । जन्मजात सुन्दरी ऐश्वर्या आफ्नो सुन्दरता कायम राख्न घरमा बनेको खाना मात्र खान्छिन् । पर्याप्त मात्रामा पानी पिउँछिन् । चिल्लो–पिरो खानेकुराबाट पनि ऐश्वर्या सधैँ टाढा रहने गरेकी छन् । खानापछि फलफूल खाने गरेकी ऐश्वर्या सधैँ सकारात्मक सोच मात्र राख्छिन् । त्यसकारण उनको त्वचा सधैँ सुन्दर रहिरहेको बताइन्छ।

ऐश्वर्या बलिउडकी एक मात्र पहिलो हिरोइन हुन्, जसको मैनको पुत्ला बेलायतको लण्डन स्थित म्याडम तुसाद म्युजियममा राखिएको छ । पूर्वविश्व सुन्दरी भएको तथा अभूतपूर्व सुन्दरताका कारण उनको पुत्ला संग्रहालयमा राखिएको बताइन्छ। ऐश्वर्याको करिअरको टर्निङ फिल्म ‘मोहब्बतें’ हो। थोरै मान्छेलाई मात्र थाहा छ, मोहब्बतें फिल्ममा पहिला ऐश्वर्याको रोल निकै छोटो थियो । तर, जब सेटमा पुगेर उनले अभिनय गर्न थालिन्, उनको अभिनय कला देखेर निर्देशक नतमस्तक भए। त्यसपछि उनले ऐश्वर्याको सिन थपेका थिए। फिल्म सुपरहिट भयो।

कलेज लाइफमा ऐश्वर्या सबै टिचरकी फेभरेट थिइन् । तर, उनी क्लासमा पछाडिको बेच्नमा बस्ने गर्दथिन् । तर, जब फिजिक्सको क्लास हुन्थ्यो, त्यतिवेला भने उनी अगाडि आएर बस्ने गर्दथिन् । उनी फिजिक्स टिचरकी अति प्रिय विद्यार्थी थिइन् ।
ऐश्वर्याले एउटा अन्तर्वातामा तिनै फिजिक्स टिचरले आफूलाई कलेज म्यागजिनका लागि फोटो सेसन गर्न प्रेरित गरेका थिए।

त्यसपछि नै उनले मोडलिङको सपना बुनेकी हुन् । त्यही सपनाले आखिरमा उनलाई मिस वल्र्ड हुँदै फिल्म अभिनयको यात्रामा लगायो। बलिउडका महानायक अमिताभ बच्चन परिवारको अभिन्न सदस्य तथा अमिताभ बच्चनको बुहारीको नाताले पनि ऐश्वर्याको इमेज बेग्लै रहेको छ। अमिताभ बच्चन पुत्र अभिषेक बच्चन पत्नी ऐश्वर्या एक छोरीकी आमा पनि हुन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक १७ गते शुक्रबार ।