पाटन । नेपालभाषाको सांगीतिक क्षेत्रमा अत्यन्त सक्रिय गायिका सुमन मानन्धर तथा गायक जितेन्द्र शाक्यको दुई गीतको भिडियो सार्वजनिक भएको छ। आइतवार आयोजित कार्यक्रममा ललितपुरको जाउलाखेल फुडल्याण्डमा उक्त दुई गीतको भिडियो सार्वजनिक भएको हो।

पाटन निवासी बरिष्ठ गायक एवम् संगीतकार स्वयम्भूराज शाक्यको प्रमुख आतिथ्यतामा भएको भिडियो सार्वजनिकरण कार्यक्रममा गीतकार अमृतरत्न शाक्य तथा संगीतकार वीरेन्द्रकुमार शाक्यलाई समेत सम्मान गरिएको थियो। संचारकर्मी तथा गायक सुरजवीर बज्रचार्यको कार्यक्रम संयोजनमा भएको दुई भिडियो सार्वजनिक कार्यक्रम भएको हो।

काल जिगु नुगः सुना बोलको गीतको भिडियो र छं न्हिला दः बोलको गीत सार्वजनिक भएको हो। काल जिगु नुगः सुना बोलको गीतको भिडियोमा विषमराज शाक्य, सरिता बज्राचार्य, रजनी खड्गी, शिशुज्योति मानन्धर, रयावी श्री, युकी महर्जन, रेजिना बज्राचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।

त्यस्तैगरेर, छं न्हिला दः बोलको गीतको भिडियोमा नेपालभाषाका सुपरस्टार हिरो रुपेन श्रेष्ठ थक्वाः र सरिता बज्राचार्यको विशेष भूमिका रहेको छ। यस गीतको भिडियोमा सुपरस्टार रुपेन डाक्टर, इञ्जिनियर, पाइलटको फरक भूमिकाहरुमा बेजोड ढंगले प्रस्तुत भएका छन्।

प्रकाशन मिति–२०७६ साल पुस १४ गते सोमवार ।