ललितपुर । लाखौं पाठकको प्रिय पत्रिका कामना मासिकको संस्थापक प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको नाममा स्थापित गौरबमय पुष्करलाल मिडिया अवार्ड प्रदान गरिएको छ।

सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजित भव्य तथा सभ्य कामना फिल्म अवार्ड कार्यक्रममा कामनाका संस्थापक पुष्करलाल श्रेष्ठको नाममा स्थापित पहिलो पुष्करलाल मिडिया अवार्ड नीजि क्षेत्रको बृहत सञ्चार संस्था इमेज च्यानलका अध्यक्ष आरके मानन्धरलाई प्रदान गरिएको छ।

नगद १ लाख सहित मानन्धरलाई पुष्करलाल मिडिया अवार्ड काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले संयुक्त रुपमा प्रदान गरेका थिए।

त्यसैगरेर, कामनाका संस्थापक पुष्करलाल श्रेष्ठका पिता बरिष्ठ समाज सेवी भरतलाल श्रेष्ठको नामवाट स्थापित भरतलाल ह्युम्यानिटेरियन अवार्डवाट नगद १ लाख रुपिया“सहित पहिलोपटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ।

कामनाका संस्थापक स्वर्गवासी प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शनपश्चात यी दुई सम्मान प्रदान गरिएको हो। नेपालका नंबरी अभिनेता राजेश हमालले भावुकताका साथ कार्यक्रम सञ्चालन शुभारम्भ गरिएको समारोहमा बरिष्ठ अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपिया सहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपिया सहित पर्दापछाडिका कलाकारतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरिएको थियो।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो। जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरीएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ। १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मुख्य विधाहरु सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ।

यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपिन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथासुुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए। समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५ ले पनि सहअभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाकन गरी ५ विधाको अवार्ड चुमेको छ।

यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कष्ट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए। यो फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए।

गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३ विधाको अवार्ड चुमेको छ। हास्य विधाको अवार्ड केदार घिमिरेले चुमे। उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए।

 कविराज कामना फिल्म अवार्डमा लगातार ५औं अवार्ड चुम्न सफल भएका छन्। १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्र्र्वोत्कृष्ट नव निर्देशकसंगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ। समारोहमा चलचित्र साईंलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि चुमेको छ।

यस वर्षको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए। त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर श्रृंगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरिलाई जुरी अवार्ड प्रदान गरीएको छ।


प्रकाशन मिति–२०७६ साल पुस १९ गते शनिवार ।