काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास युके) ले नेपालमा विरामी भएका कलाकार तथा पत्रकारलाई आर्थिक सहयोग गरेको छ। इनास युकेले नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकार तथा ड्रेसमेन जुँगे भट्टराई र अग्रज चलचित्र पत्रकार रमेश ग्रहणलाई आर्थिक सहयोग गरेको हो।

दम तथा स्वास–प्रस्वास रोगको कारण विरामी परेका कलाकार भट्टराई र ब्रेन स्ट्रोकका कारण थला परेका चलचित्र पत्रकार ग्रहणलाई इनास युकेका तर्फवाट बन्दना केसी, मनिषा डंगोल श्रेष्ठ, निर्देशक देवकुमार श्रेष्ठ, गायक तथा अभिनेता श्रीदेव बीएल र अभिनेता किशोर चिपालुले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।

अलग अलग कार्यक्रमका वीच विरामी कलाकार भट्टराईको काठमाडौंको नरदेवी ताम्सीपाखा निवास तथा पत्रकार ग्रहणको ललितपुर बालकुमारी निवास पुगेर दुवैको हातमा इनास युकेले बेलायतमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। कलाकार भट्टराईलाई नगद २० हजार र पत्रकार ग्रहणलाई नगद ३० हजार आर्थिक सहयोग गरेको हो।

उक्त सहयोग रकम इनास युकेको कार्यसमिति भित्रवाटै भएको इनास युकेले जनाएको छ। जसमा इनास युकेका अध्यक्ष विनादे चिपालु, उपाध्यक्ष सिम्मी पुन, महासचिव संजयभक्त कँडेल, सचिव गुणदेव घिमिरे, कोषाध्यक्ष दीपक थापा, संगीत संयोजक सर्वेन्द्र अधिकार, सदस्यहरु सुजन पराजुली, माया केसी, राजेन्द्र खस, रजनी शर्माको सहयोग रहेको छ।

त्यस्तै इनासका पूर्व अध्यक्ष एवम् आई.सि.सि. सदस्य यादव भण्डारी, सल्लाहकार दीपक श्रेष्ठ, इनास युकेका संस्थापक संरक्षक मनिष कुमार श्रेष्ठको पनि उतिकै सहयोग रहेको इनास युकेले जनाएको छ। नेपालमा कलाकार भट्टराई तथा पत्रकार ग्रहणलाई सहयोग हस्तान्तरण कार्यक्रमको संयोजक भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतले गरेका थिए।

प्रकाशन मिति–२०७७ साल फागुन २३ गते आइतवार ।