काठमाडौं। बलिउडकी गायिका कनिका कपुर कोरोनाभाइरसको संक्रमणवाट निको भएको लगतै बलिउडकी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। बलिउड फिल्म निर्माता करिम मोरानीकी छोरी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो।

पछिल्लो केही दिनदेखि जोया मोरानीमा कोरोनाभाइरस संक्रमणका लक्षणहरु देखिएको थियो। जोयाकी बहिनी शंजामा पनि यसअघि कोरोना पोजिटिभ देखिएको थियो। जोया हाल अस्पतालमा भर्ना भएकी छन्। जोयालाई कोभिड–१९ को आइसोलेसन वार्डमा राखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।

अभिनेत्री जोया मोरानीले टाइम्स अफ इण्डियासँग कुराकानी गर्दै आफूलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि गरेकी हुन् । जोया मोरानी मुम्बाईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना भएकी छन् । यस्तै उनकी बहिनी शंजा पनि नानावटी अस्पतालमा भर्ना भएकी छन् । स्पटब्वायको खबर अनुसार शंजाले गत मार्चमा श्रीलंकाको यात्रा गरेकी थिइन्। स्पोटब्वाईसँगको कुराकानीमा करिब १४ दिनदेखि शंजा र जोया साथै रहेको र एकदिन शंजालाई खोकी आएको, हल्का ज्वरो र टाउको दुखेपछि कोभिड–१९ भएको पाइएको जोयाले बताइन्।

त्यसपश्चात दुबै दिदी बहिनी स्वास्थ परिक्षण गराउँदा कोरोनाभाइरस संक्रमण पाइएको थियो। आजतकको रिपोर्ट अनुसार मोरानी परिवार बसोबास गरिरहेको अपार्टमेन्टलाई सिल गरिएको छ। मोरानी परिवार मुम्बाईको जुहू इलाकामा बस्दै आएका छन् । त्यस क्षेत्रमा बलिउडका धेरै कलाकारहरु बसोबास गर्ने गर्छन्।
प्रकाशन मिति–२०७६ साल चैत २७ गते विहीवार ।