काठमाडौ। पचासको दशकका अत्यन्त चर्चित व्याण्ड स्काई ब्याण्ड हो। यो ब्याण्डको अत्यन्त चर्चामा आएको गीत डाँडैमा मेला लागेछ–कान्छीले वोलाइरहेछ हो। यो गीत पचासको दशकमा मात्र होइन, अहिलेसम्म पनि त्यतिकै चर्चामा रहेको छ। यो गीत केही दिनअघि रोटरी क्लब चितवनले आयोजना गरेको मेगा म्युजिकल नाइटमा तहल्का नै भयो।

नारायणगढमा आयोजित मेगा म्युजिकल नाइटमा स्काई व्याण्डका व्याण्ड फाउण्डर तथा लिड भोकलिष्ट गायक कविन्द्र श्रेष्ठले यो गीत गाएपछि हल नै गुञ्जयमान बनेको थियो। डान्सिङ मूडको गजबको यो गीतलाई आफ्नै शैलीले गाएर फेरि त्यो पुरानो रौनकतालाई कायम गर्न गायक कविन्द्र श्रेष्ठ सफल बनेका छन्।

सवैको वाहवाही र गडगडाहट ताली पाएका कविन्द्र निक्कै नै हौस्सिएका छन्। हुन त यो गीतको मूल गायक स्काई ब्याण्डकै गायक दुर्गाकाजी शाक्य हुन्। तरपनि, स्काई ब्याण्डका लिड भोकलिष्ट कविन्द्रले यो गीतलाई कालान्तरसम्म कालजयी बनाउने कार्यमा तल्लिन बनिरहेका छन्। यसैले पनि यो गीतलाई विभिन्न स्टेज प्रोग्रामहरुमा गाएर कालजयी बनाउने कार्य कविन्द्रवाट भएको छ।

विसं.२०४८ सालमा स्थापना भएर चर्चामा आएको स्काई ब्याण्ड बाग्लुङका तन्नेरीहरुको सांगीतिक व्याण्ड हो। यस व्याण्डको स्थापना कविन्द्रकै अगुवाईवाट भएको हो। यस व्याण्डमा कविन्द्रका साथमा जितेन्द्र राजभण्डारी, रेष्टा राजभण्डारी, दिनेश राजभण्डारी, शैलेन्द्र प्रधानाङ्ग, पुकार श्रेष्ठ र दुर्गाकाजी शाक्य छन्।

कविन्द्रको चाहनामा बाग्लुङको मेन बजार देउराली चोक बसेर सवै साथीहरु मिलेर रहरैले स्थापना गरिएको स्काई ब्याण्ड राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चर्चित नेपाली सांगीतिक व्याण्ड बनिसकेको छ। यसले गर्दा पनि आफ्नो प्रयासले सफलता पाएकोमा कविन्द्र अत्यन्त गर्बित बनेका हुन्।

डाँडैमा मेला लागेछ बोलको गीतले व्यापक चर्चामा ल्याएतापनि कविन्द्रको गायन रहेको पहिलो गीत भने जब मैले तिमीलाई देखे बोलको गीत नै हो। त्यसपछि तिम्रो हाम्रो मायाको आधार, बाग्लुङ बजार, रिमझिम पानी पर्यो लगायतका दर्जनौ गीत कविन्द्रको परिचय हो। कविन्द्रले हालसम्म ४० वटा गीत गाइसकेका छन्। सातवटा एल्बम बजारमा आइसकेको छ।

गायन कलाकारितामा कविन्द्र अगाडि आउनुको पछाडि कविन्द्रका हजुरबा र पिताकै प्रेरणावाट हो। हजुरबा विष्णुप्रसाद श्रेष्ठ बाग्लुङको नामुद भजन गायक तथा नाट्यकर्मी हुन्। त्यस्तै पिता महेन्द्र श्रेष्ठ नेपाली चलचित्रका स्वभाविक अभिनयका धनी कलाकार हुन्। जसले बहुचर्चित नेपाली चलचित्र जीवन–ज्योतिमा क्यारेक्टर रोलमा गजबको अभिनय गरेका थिए। नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता नीर शाहले समेत कविन्द्रको पिता महेन्द्रको दिल खोलेर तारिफ गर्ने गरेका छन्।

दर्जनौ चलचित्रमा अभिनय गरेका उनै महेन्द्रका सुपुत्र कविन्द्रमा भने अभिनयको भोक भने लागेन। दर्जनौ चलचित्रवाट अफर आएतापनि गीत गाउनमा नै कविन्द्रको मन बस्यो। चलचित्रमा अभिनय नगरेतापनि लामो भागको सिरियल गहना निर्माण गरेर नेपाली टेलिचलचित्रको इतिहासमा रेकर्ड ब्रेक गर्ने कार्य कविन्द्रवाटै भएको हो।

गहनावाट निर्देशक घनश्याम भट्टराई, नायिका रञ्जना शर्मा, नेपाली कोमलिका प्रिया रिजाललाई स्थापित बनाउने पर्दापछाडिका हिरो कविन्द्र नै हुन्। कविन्द्रका भाइ रविन्द्र पनि दाइजस्तै गायनमा नै व्यस्त बनेका छन्। कविन्द्रकी एकमात्र सुपुत्री कृतिशा श्रेष्ठलाई कविन्द्रलाई जस्तै गायन मन पर्दछ। त्यसको अलावा उनको रुचि डान्स पनि रहेको छ।

हंगकंग, कतार, दुबई, बेल्जियम, हल्याण्ड लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका कविन्द्र व्याँटमिन्टनका तथा साइक्लिङका राष्ट्रिय खेलाडी पनि हुन्। यस दुवै खेलका धेरै टुर्नामेन्टहरुमा भाग लिएर बेग्लै कीर्तिमान कायम गर्ने कार्य पनि उनीवाट भैसकेको छ। पेशाले कपडा व्यवसायी कविन्द्र एसएम इन्टरप्राइजेज ट्रेडर्सका प्रोप्राइटर समेत हुन्। चांडै नै नयाँ गीत रिलिज गर्ने क्रममा उनी रहेका छन्। जुन गीतको कम्पोज गायक तथा संगीतकार जेम्स प्रधानले गरेका छन्।

प्रकाशन मिति–२०७५ साल असार १२ गते मंगलवार ।