काठमाडौ। परदेशमा नेपाल तथा नेपालीको पहिचान चिनाउने अभियानमा सामाजिक अभियन्ता तथा अभिनेता गंगा बहादुर नेम्कुल रहेका छन्। अष्ट्रेलियाबाट शुरु भएको नेम्कुलको उक्त अभियान युरोपको राजधानी पोर्तुगल पुगेको छ।

Mr.Ganga Bahadur Nemkul

अष्ट्रेलियामा लामो समय नेपाल र नेपालीको पहिचान चिनाउने कार्यमा अत्यन्त क्रियाशील बनेर व्यापक चर्चा पाएका नेम्कुल पोर्तुगलमा पनि सोही प्रकारले नेपाल चिनाउने कार्यमा व्यस्त छन्।

बेग्लै सोच र शैलीवाट नेपाल चिनाउंदै आएका नेम्कुल आगामी सेप्टेम्बर महिनामा नेपालका विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई एकै स्थानमा राखेर पोर्तुगलमा प्रमोसन गर्ने बृहत सांस्कृतिक कार्यक्रमको तयारीमा रहेका छन्।

यसको लागि व्यापक होमवर्क गर्ने कार्यमा हाल नेम्कुल रहेका छन्। यस कार्यक्रमवाट नेपाल र पोर्तुगलको पहिचान तथा संस्कृतिलाई फ्युजन गरेर नयाँपन दिने कोशिशमा पनि नेम्कुल रहेका छन्।

हाल पोर्तुगलमा नेम्कुलको अथक प्रयासवाट नेपाली टेलिभिजन स्थापना भएको छ। जसको नाम नेपालको ने अनि पोर्तुगलको गल मिलाएर नेपुगल नाम तय गरेर टेलिभिजनको शुभारम्भ भएको नेम्कुलले भनेका छन्।

नेम्कुलको पोर्तुगिलिस साथी फेन्सेस्कोले यस टेलिभिजनको नाम जुराएका हुन्। सूचना तथा मनोरञ्जनात्मक यस टेलिभिजनले पोर्तुगलमा रहेका नेपालीहरुलाई नै केन्द्रित गरेर नेपाली भाषामा नै प्रसारण आरम्भ गरिएको पनि नेम्कुलले भनेका छन्।

युरोपको राजधानी नै मानिएको पोर्तुगलमा सुरुवात भएको नेपालीहरुको पहिलो टिभी नेपुगल टिभी हिजोआज चर्चाको शिखरमा रहेको छ। यस टिभीका संस्थापक संचालक गंगा बहादुर नेम्कुलका अनुसार यस टिभीमा नेपालभाषा, नेपाली, तामाङ भाषा लगायत नेपालमा बोलिने अरु भाषाहरुमा समेत प्रसारण प्रारम्भ गरिएको छ। हिजो आज पोर्तुगलका नेपाली कार्यक्रमहरु तथा नेपाली बस्तुस्थिती–चिनारी,नेपाली समस्या परिस्थिति लगायत सम्पूर्ण कार्यक्रम प्रसारण गर्दै आइरहेको जनाइएको छ।

नेम्कुलको अथक मेहेनतमा रोशन लामाको साथले यो टिभी चर्चाको शिखरमा पुगेको हो। यस टेलिभिजनले निकट भविष्यमा अझ थप सहयोगी हातहरुको साथ लिएर युरोपको एक नंबरको नेपाली टेलिभिजन बनाउने जिकिर नेम्कुलको रहेको छ। यही टेलिभिजनको माध्यमवाट नेपाल र नेपालीको पहिचान दिने कार्यमा नेम्कुल अग्रपंक्तीमा देखिएका छन्।

विशेष गरेर नेपालमा जुन दिन जुन जातिको पर्व पर्ने गर्दछ। सोही जातिको पहिरन लगाएर प्रस्तुत हुने र सोही जातिका नेपालीहरुलाई शुभकामना दिन पुगेर जातिय पहिचान अभिबृद्धि गर्न र गराउन हौसला दिने कार्य टेलिभिजन मार्फत नेम्कुलवाट हुंदैआएको छ।

देशको परिचय भन्ने नै त्यो देशमा बस्ने नागरिकहरुको जातिय पहिचानरुपी पर्व भएको नेम्कुल जिकिर गर्छन्। नेम्कुल नेपालका सवै जातजातिका पहिचानरुपी पर्वको खुलेर परदेशमा प्रवद्र्धन गर्ने कार्यमा हाल अत्यन्त क्रियाशील बनेका छन्। नेपालका १ सय २० जातिका पहिचानका अधिकांस पहिरन नेम्कुलसंग संग्रहित रहेका छन्। ती संग्रहित पहिरन लगाएर पोर्तुगलमा प्रवद्र्धन गर्ने कार्यमा नेम्कुल अग्रपंक्तीमा छन्। जसको मुक्तकण्ठले पोर्तुगलमा तारिफ गर्नेहरुको कुनै कमी छैन्।

केही बर्षअगाडि नेपालमा नेपाली,नेवार तथा तामाङ गरेर तीनभाषामा चलचित्र टेम्पो चालक निर्माण गरेर बेग्लै चर्चा तथा ख्याति कमाउने कार्य निर्माता तथा नायक गंगा बहादुर नेम्कुलले गरिसकेका छन्।

नेम्कुलले काठमाडौ पाटनको रुटमा टेम्पो चलाउने कोपिला तामाङलाई नै नायिका बनाएर चलचित्र टेम्पो चालक निर्माण गरेर प्रदर्शन गरेका थिए। जसमा टेम्पो चालक कोपिला तामाङको नायकको भूमिकामा नेम्कुल नै रहेका छन्।

अष्ट्रेलियामा लामो समय बसेर नेपाल फर्कदा टेम्पोमा यात्रा गर्ने क्रममा टेम्पो चालकसंग नै माया–प्रेम बस्ने कथा चलचित्र टेम्पो चालकमा रहेको छ। यस चलचित्रको निर्देशन चर्चित हाँस्य अभिनेता रबि डंगोलले गरेका हुन्।
प्रकाशन मिति–२०७५ साल बैशाख १० गते सोमवार ।