ललितपुर। धातुमा मुखाकृति बनाउने कला तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिकाको सहकार्य तथा सहयोगमा संकल्प विकास केन्द्र नेपालले आयोजना गरेको यस तालिम बैशाख १२ गते बुधवार संपन्न भएको हो। संपन्न भएकै दिन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण कार्य भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर २० का वडा अध्यक्ष चन्द्रलाल महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष महर्जनले सहभागी २० जना प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेका हुन्। कार्यक्रममा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाका बरिष्ठ अधिकृत प्रेम बहादुर थापाले तालिम कार्यक्रम अत्यन्त प्रभावकारी भएको र यसलाई रोजगारीको माध्यम बनाउन आवश्यक भएको बताए।

समापन तथा प्रमाण–पत्र वितरण समारोहमा ललितपुर महानगरपालिका सामुदायिक विकास शाखाका अधिकृत सरिता महर्जन, ललितपुर महानगरपालिका वडा नंबर २० का वडा सदस्य धनकाजी शाक्य, वडा सचिव माधवराज सिलवाल, सामाजिक विकास समितिका सदस्यव्द्य सुप्रभा शाक्य, आपुल महर्जन, अग्रज पत्रकार नारायण राई लगायतका विशेष अतिथिहरुको सहभागिता रहेको थियो। विशेष अतिथिहरुले तालिमको महत्व र यसको आवश्यकता अनि उपलव्धीका विषयमा मन्तव्य राखेका थिए।

आयोजक संस्थाका प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता डेविड श्रेष्ठको सभापतित्वमा प्रमाण–पत्र वितरण कार्यक्रम संपन्न भएको हो। यस तालिम कार्यक्रमले धातुमा मुखाकृति बनाउने अति आवश्यक कालिगढ उत्पादन गरेको र राम्रो रोजगारीको संभाव्यतामा बृद्धि गरेको सभापति श्रेष्ठले जिकिर गरे।

१० दिने तालिमका तालिम प्रशिक्षक श्रीराम श्रेष्ठले यो कलाको माग नेपालमा भन्दा बढी चीनमा रहेको र यहाँ उत्पादन भएका यस कलाको चीनमा धेरै डिमाण्ड भएकोले यो तालिम लिनेहरु बेरोजगार बन्न नपर्ने खुलासा गरे।

तालिम लिने २० जना प्रशिक्षार्थीहरुको प्रतिनिधित्व गर्दै दिपना शर्माले कार्यक्रम आफूहरुलाई निक्कै नै प्रभावकारी भएको र यसवाट आफूहरुलाई नयाँ रोजगारको मार्गप्रशस्त भएको बताइन्।

तालिम कार्यक्रम २०७५ बैशाख ३ गतेवाट प्रारम्भ भएर २०७५ बैशाख १२ गतेसम्म संचालन भएको हो। तालिम विहान ८ बजेदेखि दिउंसो १ बजेसम्म संचालन गरिएको थियो। तालिम कार्यक्रमको संचालन तथा संयोजन श्याम स्मृतले गरेका थिए।


प्रकाशन मिति–२०७५ साल बैशाख १३ गते विहीवार ।