ललितपुर। नेपाली पप–संगीतमा नेपालीमा अंग्रेजी मिसाएर मज्जाले गाएर चर्चाको शिखरमा पुगेका चर्चित गायक दीपक बज्राचार्यको गायन यात्राले दुई दशक पार गरिसकेको छ। यस अवधिमा दीपक बज्राचार्यले ओ अमिरा देखि काली काली हिस्सी परेकी, म कुनै ऋतु हैन, झुमी झुमी जस्ता दर्जनौ दर्जन गीत गाइसकेका छन्। लाखौ लाखका मनमा सजिसकेका छन्।

तरपनि दीपकको मन भरिएको छैन्। त्यसमाथि, केही बर्षअगाडि युरोपको म्युजिक कन्सर्टको बेलामा एक विदेशी मित्रले तिम्रो गीतमा तिम्रो देशको आफ्नोपन नपाएको र उही वेस्टर्न बाजामा नै तिमी गीत गाइरहेका छौ भनेपछि दीपक झस्किएका थिए। गायनको २० बर्षको यात्रामा दीपकको काँधमा कयनले धाँप मारे। बधाईको ओइरो मात्र दिए।

यस्तो प्रतिक्रिया कसैले दिएका थिएनन्। जसले गर्दा दूर बस्तीवाट यस्तो प्रतिक्रिया आएपछि अत्यन्त भावुक बनेका दीपक नेपाल फर्केपछि नेपाली मौलिक बाजाको खोजी र जगेर्ना गर्नतिर कम्मर कसे। हरेक दिनजस्तो बाजा बज्ने ललितपुरको भिन्छे बहालमा जन्मेका दीपकलाई ती बाजाले भन्दा वेस्टर्न बाजाले तानेकोमा आफैले आफैलाई धिकार्न पछि परेनन्।

जात्रा–पर्वमा बज्ने बाजा देखि हरेक दिनको शुरुवात अनि रातमा बज्ने र बजाइने गरेका हरेक बाजाको अध्ययन तथा अनुसन्धान गरेर क्रिम अफ रिदम नामक डकुमेन्ट्री फिल्म बनाएपछि दीपकको मन बल्ल ठण्डा भएको थियो। त्यसको अलावा केही दिनअघि मात्र तिनै आफूले अनुसन्धान गरेका विविध नेपाली मौलिक बाजाको समिश्रण गरेर तयार पारेको नयाँ गीत मन–मगनको सार्वजनिक भएपछि आत्मसन्तुष्टि मिलेको दीपकले भिजन संसारको कुराकानीमा प्रतिक्रिया दिएका छन्।

२० बर्षको सांगीतिक यात्राको गर्विलो गीतको रुपमा मन–मगन भएको दीपकले दावी समेत गरेका छन्। यस गीतको भिडियो सार्वजनिक भएपछि युरोपमा भेटिएका विदेशी मित्रको प्रश्नको सही जवाफ दिएजस्तो अनुभव पनि भएको दीपकले भनेका छन्। विशेषगरी नेपाली मौलिक परम्परामा आधारित जात्रा र पर्वहरुमा बजाइने परम्परागत बाजा र नाँचलाई प्रमुखता रुपमा यस गीतको भिडियोमा प्रस्तुत गर्न दीपक सफल बनेका छन्।

त्यसै सांस्कृतिक पहिचानलाइ मूल पृषठभूमि बनाएर कमर्सियल धुनमा परिणत गरी यो म्यूजिक भिडियो तयार पार्ने कार्य दीपकवाट भएको छ। नेपाली मौलिक गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई पहिलो प्राथमिकता दिएर दीपकले सारा नेपालीहरुको र नेपालकै एउटा सुनौलो पहिचानको रुपमा यो भिडियोलाई प्रस्तुत गरेका छन्।

यस भिडियोमा अत्याधुनिक हिपहप, सुदुरपश्चिम तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सालिङ, लिम्बुवान, झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी, धुनिया घुमाउने उपत्यकाको परम्परागत धिमेनाचको फ्यूजन रहेको छ।

रिक्की शाक्यसंगको शब्द र संगीतको सहकार्यमा बनेको यो गीतको भिडियो दीपककै संगीत समूह रिदम ब्याण्डले एरेञ्ज गरेको हो भने सुव्रतराज आचार्यको निर्देशन, अनिल मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख १५ गते शनिवार ।