काठमाडौ। सिलु,राजमति,बालाँ मयजु, पटाचारी, पानबती, तुयुमति, स्वयनगुः जस्ता दर्जनौ कालजयी नेपालभाषाका चलचित्रले बेग्लै इमेज राखिसकेको छ। आदिवासी जनजाति नेपालभाषामा पनि उच्चकोटीका चलचित्र बन्ने गर्दछ र ती चलचित्र नेपाली चलचित्रभन्दा पनि उत्कृष्ट बन्ने गर्दछ भन्ने प्रमाण दिइसकेको छ। नेपाली पछि नेपालमा नेपालभाषाका चलचित्रले उत्कृष्टता हासिल गर्दैआएको छ।

यसक्रममा नेपालभाषामा निर्माण भएको चलचित्र बसन्त–ऋतुले नयाँ कीर्तिमान कायम गर्नतिर अग्रसर भएको छ। अघिल्लो हप्ता काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरवाट प्रदर्शनको विगुल फुकिसकेको यस चलचित्र बसन्त–ऋतुको चैतेदशैंको दिन आइतवार कीर्तिपुरको पांगास्थित कृष्णभिजन सिनेमा हलमा प्रदर्शन गरिएको छ।

खोकनाको चर्चित इभेन्ट म्यानेजमेन्ट कंपनी एम्स इन्टरटेन्टमेन्टको आयोजनामा भएको भव्य प्रदर्शन कार्यक्रममा एम्स इन्टरटेन्टमेन्टले चलचित्र बसन्त–ऋतुका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुलाई सगुन दिएर बेग्लै सम्मान दिने कार्य भएको छ।

धुँ देय् प्रोडक्सन प्रा.लि.का निर्माता रामकृष्ण धिनाको निर्माण तथा बरिष्ठ चलचित्र निर्देशक पवन जोशीको लेखन–निर्देशनमा निर्माण भएको चलचित्र बसन्त–ऋतुको कथा नै गजबको छ। कथा–पटकथा तथा संवादको कसिलोपनाले चलचित्र बसन्त–ऋतु मज्जाले बगेको छ

कतिले सोच्दै–नसोचेको घटना पनि समाजमा हुने गर्दछ। त्यो घटनालाई कथानकता दिएर चलचित्र बसन्त–ऋतुमा पस्कने कार्य निर्देशक पवन जोशीवाट भएको छ। अपत्यारिलो सत्यको पर्दाफास गर्ने कार्य चलचित्र बसन्त–ऋतुवाट भएको छ।

बसन्त–ऋतु भनेपछि निश्चित रुपमा यो नायक–नायिकाको नाम हुनुपर्दछ भन्ने सवैको सोच र ठहर हुने गर्दछ। यो आम सोचलाई फरक कथामा बगाउने कार्य चलचित्रमा भएको छ। जुन यस चलचित्रको प्लस प्वाइन्ट बन्न पुगेको छ। अर्कोतर्फ चलचित्र बसन्त–ऋतुका प्राय सवै कलाकार नयाँ भएतापनि उनीहरुलाई सहज ढंगवाट सरल तरीकाले काम गराउन निर्देशक जोशी सफल भएको पाइन्छ।

अर्कोतर्फ माझिएका कलाकार सुशील श्रेष्ठको गेष्ट रोललाई पनि जीवन्त बनाउने कार्यलाई पनि कुनै कमजोर बनाएका छैनन्। डेढ घण्टा लामो चलचित्र बसन्त–ऋतु हेर्न दर्शकहरु कतिपय दृश्यहरुमा रुने गर्दछन् भने, कतिपय स्थानमा आक्रोशित बन्ने पनि गर्दछन्।

खलनायक बनेका राजेन्द्र महर्जनलाई बेस्सरी गाली गर्ने दर्शक पनि भेटिएका छन् भने, परिस्थितिको दास बनेका अनि परिवन्दमा परेका नायक किशोर चिपालुको स्वभाविक अभिनयलाई तारिफ गर्नेहरुको कुनै कमी छैन्।

नायक चिपालुका साथमा दुई नायिका बुद्धलक्ष्मी महर्जन (अनु महर्जन) तथा शोभा महर्जनको बेजोड अभिनयलाई पनि दर्शकहरुले अत्यन्त रुचाएको पाइयो। सवै कलाकारले उत्कृष्ट अभिनय गरेको चलचित्र बसन्त–ऋतुमा राजेश शाक्यको छायाँकन रहेको छ।

चलचित्र अब्बल दर्जाको उत्कृष्ट चलचित्र बनेको छ। तर, आदिवासी–जनजातिका चलचित्रले सहज ढंगवाट प्रदर्शन गर्नका लागि हल नपाउने भएकोले विभिन्न स्थानहरुमा च्यारिटीको नाममा प्रदर्शन गर्न विवशता नै छन्। यसतर्फ संवन्धित निकायको ध्यान नजान्नु दुःखद पक्ष नै हो।

प्रकाशन मिति–२०७४ साल चैत्र ११ गते आइतवार ।