काठमाडौ। पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा अर्थात चेज जन्मदिनको गीत प्रतियोगिता उत्तम महर्जनले जितेका छन् । १ सय २१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको तर्फबाट सुरजवीर बज्राचार्यको रचना र जुगल डंगोलको संगीत र संगीत संयोजनय् नेपालभाषाको एउटा गीत रेकर्डिङ, तथा एउटा म्यूजिक भिडियो निर्माणको पुरस्कार प्राप्त गरेको छ।

गीत रेकर्डिङको पुरस्कार जित्ने टप ५ मा परेको अन्य ४ विजेताहरु परमेश मल्ल, सुमन मानन्धर, रविनसन कंसाकार र मुकेश शाक्य छन्। विजेताहरुलाई आर्टोम्यूज रेकर्डिङ स्टुडियोले जुगल डगोलको संगीत र संगीत संयोजनमा नेपालभाषाको गीत रेकर्ड गरिदिनेछ जुन गीतका रचनाकारहरु प्रकाश दीप, पूर्णकाजी ज्यापु, हरिराम महर्जन थेच्वमि र दर्शनवीर शाक्य रहेका छन् ।

टप ५ मा पर्न सफल सुमन मानन्धरले सबैभन्दा बढी भ्यूज प्राप्त गरी २४ इन्चको चेज लिड टेलिभिजन पुरस्कार जितेकी छन्। गत पौष १ गतेदेखि शुरु भएको प्रतियोगितामा सामाजिक संजाल फेसबुकमार्फत माघ ८ गते राति १२ बजेसम्म गीत दर्ताको लागि समय उपलब्ध गराइएको थियो । यो अवधिमा १ सय २१ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो भने सबैभन्दा बढी भ्यूज रहेको सुमन मानन्धरको भिडियो त्यो अवधिसम्म ७७,८१७ पटक हेरिएको थियो ।

पुरस्कार घोषणा तथा वितरणको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पेजथ्री साँझको रौनक पनि रहेको थियो । राष्ट्रिय नाचघरमा आयोजित उक्त समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, निशा देसार, सतिष महर्जन, सरीता शाही, दीपा महर्जन, रत्नशोभा महर्जन, सानुबाबु महर्जन, सुरज ब्यञ्जनकार, भूपेन्द्र बज्राचार्य, रोजी डंगोल श्रेष्ठ, पूर्णकाजी ज्यापु, रीता महर्जन, विरज महर्जनले गीत प्रस्तुत गरेका थिए भने आराध्यलक्ष्मी खड्गी, मिनर्वा शर्मा राजोपाध्याय, राजन शाही, रजनी खड्गीले नृत्य प्रस्तुत गरेका थिए।

यस कार्यक्रममा रेडियो र टेलिभिजनका ख्याति प्राप्त संचारकर्मीहरु श्रीकृष्ण महर्जन, प्रतिसरा सायमी। बिराजकाजी राजोपाध्याय, सुरेन्द्र मानन्धर समूह, रामकृष्ण खड्गी समूह, पवित्र कसाः, मीना बज्राचार्य, केके मानन्धर लगायतले उदघोषण गरेका थिए भने कलाकार रुपेन्द्र थक्वाःले मेमिक्री प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिता जनाउने सवैलाई हरिकृष्ण महर्जन, अजय देसार, मीना बज्राचार्य लगायतले विभिन्न पुरस्कार तथा उपहार प्रदान गरेका थिए।

मंगलधूनमा सुरजवीर बज्राचार्यको रचना र गायनमा जुगल डंगोलको संगीत र संगीत संयोजनमा बूदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना) सहभागी सवैले गाएर रोमान्चकता थपेका थिए। यही अवसर पारेर पत्रकार समेत रहेका सुरजवीर बज्राचार्यले आफ्नो पहिलो एकल गीति संग्रह ‘दोहलपा’ सार्वजनिक गरेका छन् ।

वरिष्ठ संगीतकार अमरराज शर्माले उक्त समारोहमा नेपालभाषाको गीति संग्रह ‘दोहलपा’ (उपहार)सार्वजनिक गरेका हुन् । संग्रहमा वरिष्ठ संगीतकार शर्माकै रचना र संगीतमा ‘तसकं यःम्ह’ गीत पहिलो स्थानमा राखिएको छ ।

यही गीतले सुरजवीरले निभाः म्ये धेधेबल्ला कासा (गायन प्रतियोगिता) मा सर्वोत्कृष्ट गायकको पुरस्कार दिलाएको थियो । त्यसरी नै गायक स्वयंको शब्दमा हिपहप ‘नेवाः अधिकार’, प्रसिद्ध गितारवादक फिरोज बज्राचार्यको संगीतमा ‘आः जिं लिफः स्वयाः’, धर्मकृष्ण सिकर्मीको शब्द र संगीतमा ‘म्हगसय् वयाः’ तथा द्वारिकालाल जोशीको शब्द र संगीतमा ज्ञानेश्वर निभाःले गाएको ‘अय् लमि तता’ समेत सुरजवीरको आवाजमा यस संग्रहमा संग्रहित छ ।

यस संग्रहमा गायकका विभिन्न संग्रहमार्फत बजारमा आएका लोकप्रिय गीतहरु ‘का रे मय्जु छसलिं अय्ला’, ‘मस्यू जितः छु जुयाः वल’, ‘मतिनाया छपौ’, ‘छंत गुबलें खंगु मदुसां’, ‘जि सिँपय् द्यनाच्वना’, ‘बरसेजू बरसात सुपाँय्’ तथा ग्यानापु स्टाइल संग्रहित छ ।

प्रकाशन मिति–२०७४ साल चैत्र १० गते शनिवार ।