काठमाडौ। बहुप्रतिक्षित बेजोड जोडी मह जोडीको नयाँ नेपाली कथानक चलचित्र ‘शत्रु गते’ आज शुक्रबारवाट अलनेपाल रिलिज भएको छ।

सार्वजनिक गीत तथा ट्रेलरको कारण चलचित्र रिलिज हुनुअघि नै अत्यन्त चर्चाको शिखरमा पुगेको यो चलचित्र मह जोडीले निर्माण गरेको चलचित्र मध्येको अत्यन्त उत्कृष्ट चलचित्र भएको मह संचारका व्यवस्थापक तथा यस चलचित्रको निर्माता मध्येको एक निर्माता अनि हांस्य कलाकार नरेन्द्र कंसारकारको दावी रहेको छ।

शत्रुगतेलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार पारेका हुन्। छायांकन दिर्घ गुरुङको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् ।

दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य यस चलचित्रका निर्माता हुन्।
प्रकाशन मिति–२०७४ साल चैत्र ९ गते शुक्रबार ।