काठमाडौ। आदिवासी जनजाति चलचित्रको उत्थान तथा विकासका लागि आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ। आदिवासी जनजाति चलचित्र महासंघले आदिवासी चलचित्र महोत्सव गर्न लागिएको हो।

बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्य तथा नारा बोकेको दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि देखि १७ गतेसम्म तीन दिन काठमाडौको भृकुटीमण्डपस्थित पर्यटन वोर्डमा गर्न लागेको हो।

महासंघले आइतवार काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी जनजाति चलचित्रको निर्माण प्रारम्भ भएको जानकारी दिएको छ। विसं.२०४४ मा निर्माण भएको नेपालभाषाको पहिलो चलचित्र सिलु नै प्रथम आदिवासी जनजाति चलचित्र भएको दावी गरिएको छ।

प्रथम आदिवासी जनजाति चलचित्र सिलु निर्माण भएदेखि हालसम्म ६ सयभन्दा बढी आदिवासी जनजाति कथानक चलचित्र निर्माण भइसकेको पनि महासंघले जनाएको छ। आदिवासी जनजाति चलचित्र महोत्सवमा गुरुङ भाषाको ‘मैरिमो, माझीको ‘लदी पूजा, शेर्पाको टिन्छेन ‘फमा, राजवंशीको ‘दुलारी, राईको ‘ढवाङ्गकुम’, सुनुवारको ‘गो सु नङ्गा’, थारुको ‘टुटल जिन्गी’ र ‘मन्दरा’, गुरुङको ‘पा’, मगरको ‘रैयाँ’ र ‘तमसुक’, तामाङको ‘मायासे लासी ३’ तथा नेपाल भाषाको ‘कमल पोखरी’ र ‘तापलय’ गरी १४ वटा चलचित्र प्रदर्शन हुने भएको छ।

पत्रकार सम्मेलनमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार, महासंघका महासचिव पुर्खाजित राई, महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधर, सशक्त संचारकर्मी विराजकाजी राजोपाध्याय लगायतले महोत्सवको आवश्यकता र यसको महत्वका बारेमा विविध पक्षका विषयमा जानकारी दिएका थिए।

Photo By Laxmi Kumari Shrestha
प्रकाशन मिति–२०७५ साल असार १० गते आइतवार ।