काठमाडौ। दक्षिण एसियाकै उत्कष्ट चलचित्र झोला निर्माण गरेका निर्माता तथा निर्देशक यादव भट्टराईको अर्को तहल्कापूर्ण चलचित्र भोर हो। चलचित्र झोला सती प्रथाको गंभीर सवाल बोकेको चलचित्र हो भने, यतिखेर भोरले तराईको दाइजो कथाको गंभीर विषयलाई चलचित्रको मुददा बनाएको छ। सती प्रथा भन्दा पनि डरलाग्दो प्रथा दाइजो प्रथा हो।

यो दाइजो प्रथाले कयनलाई जिउंदै बारम्बार मारिरहेको हुन्छ। यही गंभीर विषय वोकेको चलचित्र भोरको अलनेपाल रिलिज यही बैशाख २१ गतेवाट हुने भएको छ। सति प्रथा भन्दा पनि गम्भीर बिषय हो दाइजो, सति प्रथामा श्रीमानको मृत्यु पछि मात्र महिलाले पिडा खेप्नु पर्छ भने दाइजो प्रथामा महिला र उनको परिवारले दिनहु जस्तै पिडा खेप्नु पर्छ। त्यसै कारण ‘झोला’ भन्दा पनि भोर गम्भीर बिषय भएको निर्देशक यादब भट्टराईको जिकिर रहेको छ।

चलचित्रको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको छ भने चलचित्रमा सम्पूर्ण कलाकार पनि मिथिलान्चलका नै रहेका छन्। निर्देशक भट्टराईले चलचित्र मार्फत दाइजोले भोग्नुपरेको आम जनताको पीडालाई पर्दामा उतार्न खोजेको बताए।

चलचित्रको कथालाई ‘झोला’ का लेखक कृष्ण धरावासीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराई कै रहेको छ।चलचित्रलाई एक वर्ष लगाएर तयार पारेको निर्देशक भट्टराईले भनेका छन्। चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रको छायाँकन दीपक बज्राचार्यले गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी रहेका छन् । उज्जल ढकालले चलचित्रलाई सम्पादन गरेका छन्।


प्रकाशन मिति–२०७५ साल बैशाख ८ गते शनिवार ।