काठमाडौ। नेपालका अत्यन्त चर्चित हास्य अभिनेता सिताराम कट्टेल‘ (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन्।

चारवटा नमूना बस्ती बनाएको धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेको हो। धुर्मुसले फेसबुकमा स्टाटस लेखेर चौतर्फीरुपमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान अपरिहार्य रहेकोले आवाज उठेपछि सरकारसँग निर्माणमा संयोजन गर्ने घोषणा गरेका हुन्। उनले ‘नमूना नेपाल’ निर्माण परियोजनासँगै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने परियोजना समेत सञ्चालन गर्ने निर्णय गरेको बताएका छन्।

‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शीर ठाडो बनाएर नेपालीलाई खुसी बनाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ,’ उनले लेखेका छन् ,‘यो अभियान धुर्मुस सुन्तली फाउण्डेसनको मात्रै नभइ राष्ट्रकै अभियान हो , फाउण्डेसनले मात्र निर्माण संयोजन गर्नेछ।’

उनले सरकारसँगको समन्वयमा निर्माण गर्ने बताएका छन् । घुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियान सरकारलाई सहयोग गर्नको लागि बनाइएको अभियान भएको बताए। ‘यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो।

यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने,‘ सबै मिलेर निर्धारित समयभित्रै अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडी उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं।’

क्रिकेट मैदान निर्माणले खेल जगतलाई मात्र नभइ नेपालकै आर्थिक समृद्धितर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खल्ने उनको स्टाट्समा उल्लेख छ। अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेमा नेपाल सुन्दर पर्यटकीय गन्तव्य हुने धुर्मुस बताउँछन्।


प्रकाशन मिति–२०७४ साल चैत्र १५ गते विहीवार ।